News दोस्रो संस्करण मै भव्य बन्दै ज्योतिपुञ्ज कप
सुरज राना मगर

रामपुर । गत वर्षदेखि फुटबलको माध्यमबाट समग्र पूर्वी पाल्पाको मनोरम नगर रामपुरलाई चिनाउने उद्देश्यका साथ आयोजना गरिएको ज्योतिपुञ्ज कपको सफल पहिलो संस्करण पश्चात् दोस्रो संस्करण यस वर्ष थप भव्य गर्ने तयारीमा आयोजक ज्योतिपुञ्ज युवा क्लब, रामपुर–७, किसानबारी जुटेको छ ।

“प्रतियोगिता यसपटक अझै भव्य रुपमा सम्पन्न गर्न लागिपरेका छौं । ज्योतिपुञ्ज कप समग्र रामपुरको पहिचान र स्थानीयसँगै राष्ट्रिय खेलाडीहरुको उपस्थिति र क्षमता प्रदर्शन गर्ने बलियो माध्यम बनोस भन्ने हाम्रो प्रयास छ ।” आयोजक क्लब ज्योतिपुञ्जका अध्यक्ष तथा युवा अभियन्ता सुदिप गौतमले भने ।

आउँदो कार्तिक ३ गतेदेखि शुरु हुन गईरहेको दोस्रो ज्योतिपुञ्ज कप फुटबल प्रतियोगिता सफलताका साथ सम्पन्न गर्न कै लागि भनेर देशदेखि विदेशबाट समेत आर्थिक र भौतिक सहयोग गर्नेहरुको सूची लामो बन्दै गएको अध्यक्ष गौतम बताउँछन् ।

प्रतियोगिता सम्पन्न गर्न कै लागि भनेर थुप्रै प्रायोजकहरु मध्ये एसियन थाई फुड्स प्रा.लि., रामपुर र चिरायु हस्पिटल, रामपुर पनि अघि सरेका छन् । एसियन थाई फ्ुडसका दिपक बास्तोला र खेम गौतमसँगै चिरायु अस्पतालका हिमाल राना पनि ज्योतिपुञ्ज कपलाई लिएर उत्साहित छन् । गृहनगर मै राष्ट्रियस्तरको खेल र खेलाडीहरुको उपस्थिति हुने र जिल्लाबाट देश कै फुटबल गतिविधिमा रामपुरको पनि योगदान रहने उनीहरुको विश्वास र एउटै बुझाई छ ।

त्यसो त ज्योतिपुञ्ज कप आयोजना गर्दा प्रतियोगितामा छुटाउनै नहुने अर्को नाम ओके बाजे पनि हो । राष्ट्रियता जापानी भए तापनि आफ्नो अधिकांश समय नेपाल कै समाजसेवामा खर्चिएका काजुमासा काकिमी ज्योतिपुञ्ज कपकै मेरुदण्डका रुपमा पनि उभिएका छन् । उनकै सम्मानमा प्रतियोगिता कै क्रममा भव्य नागरिक अभिनन्दन कार्यक्रम पनि आयोजना गरिने आयोजक क्लबका अध्यक्ष सुदिप गौतमले बताए ।

अध्यक्ष गौतम भन्छन्, “ओके बाजेले रामपुरलाई मात्र नभएर एउटा सिंगो नेपाली समाजलाई नै लगाउनु भएको गुन हामी कहिल्यै भुल्न सक्दैनौं । उहाँ हामी सबैको आदरणीय हुनुहन्छ र अभिनन्दनसँगै सम्मानको हकदार पनि हुनुहुन्छ ।”

त्यस्तै राष्ट्रिय कला क्षेत्रमा आफ्नो विशिष्ठ स्थान बनाईसकेका राष्ट्रिय कलाकार बद्री पंगेनी पनि रामपुर कै हुन । नेपालमा उनलाई नचिन्ने पनि बिरलै होलान् । गृहनगर मै हुने ज्योतिपुञ्ज कपमा उनको पनि बलियो उपस्थिति र सात रहनेछ । गायक पंगेनी भन्छन्, “ज्योतिपुञ्ज कप रामपुर कै पहिचान र एउटा खुला परिचय हो । प्रतियोगिता आयोजना र भव्य सफलताका लागि हामी तयार छौं र उत्साहित छौं ।”

यसपटक प्रतियोगिताको पुरस्कार राशीमा पनि दोब्बर बढी बृद्धि गरिएको खेल संयोजक अनिल शाही ठकुरीले बताए । ठकुरीका अनुसार दोस्रो ज्योतिपुञ्ज कपको विजेताले उपाधिसहित नगद ३,०३,३३३ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,७७,७७७ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै विधागततर्फ पनि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

रामपुर–७, किसानबारी स्थित आयोजक क्लब कै खेलमैदानमा हुने प्रतियोगितामा पाल्पासहित रुपन्देही, नवलपरासी, नवलपुर, स्याङ्जा, पोखराका गरी कुल १० टोलीहरुले सहभागिता जनाउने छन् । स्मरण रहोस, प्रतियोगिताको पहिलो संस्करणको उपाधि पाल्पाली टोली नयु युथ युनियन क्लबले नै जितेको थियो ।

त्यसबाहेक खुला रक्तदान कार्यक्रमसँगै साँस्कृतिक र परम्परागत लगायतका मनोरञ्जनात्मक कार्यक्रम, स्थानीय परिकारहरुले पनि यसपटक ज्योतिपुञ्ज कपलाई अझै रोमाञ्चक बनाउने अपेक्षा आयोजकले लिएको छ ।

Post Comments