News लाहुरे सपना लत्याएर रेफ्री बनेका बबी
सुरज राना मगर

बुटवल । “बेलायती सेना, भारतीय सेना, नेपाल आर्मी, नेपाल प्रहरीमा पटक–पटक प्रयास गरें, कहिले के नमिल्दा, कहिले के नपुग्दा छनौट नजिक पुगेर पनि असफल भएपछि ध्यान फुटबलतर्फ मोडियो अनि फुटबल रेफ्री बनें ।” रुपन्देहीका युवा र क्षमतावान फुटबल रेफ्री मध्ये एकका रुपमा उभिएका बबी छन्त्याल आफ्नो केही अतित यसरी सम्झिन्छन् ।

वि.सं. २०५४ बैशाख २२ गतेका दिन रुपन्देहीको ओमसतिया गाउँपालिका–२ (साविक पडसरी) मै जन्मिएर त्यही हुर्किदै आफ्नो जन्मथलो र कर्मथलो मै संघर्ष गरिरहेका बबीसँग फुटबलमा लाग्नु अघिको धेरै अतितका क्षणहरु छन् । जसमा उनले सम्झिनै पर्दा ‘लाहुरे बन्ने सपना’लाई विशेष क्षणका रुपमा सम्झिन्छन् ।

“घरबाट कुनै दबाब त थिएन, तर सबै साथीभाईहरु र अन्य युवाहरु जस्तै मेरो सपना पनि लाहुरे बन्नु नै थियो । लगातारको मेहनत र प्रयासले पनि लाहुरे सपना पूरा नहुँदा, त्यसलाई लत्याएर फुटबलतर्फ होमिए । अहिले फुटबलमा रमाईरहेको छु । रेफ्री बन्ने टर्निङ्ग प्वाईन्ट पनि यही बन्यो ।” बबी सम्झिन्छन् ।

संघर्षपछि जुटेको साहस

आर्मीमा देखेको सपना यथार्थमा परिणत नहुँदा बबी केही समय अत्तालिएका पनि थिए । “अब के गर्ने? मन नै निराश भईसकेको थियो । अरु विकल्पहरु पनि थिए होलान, तर त्यो बेला आफै परिपक्व भईसकेको थिएन । कलिलो मन–मस्तिष्कले केही सोच्न सकेन ।” बबी गम्भिर हुँदै त्यो बेलाको निराशा पनि सम्झिन्छन् ।

प्रमाणपत्र तह उत्तिर्ण गरेका उनीसँग शैक्षिक योग्यता अनुसार कै जागिर खोज्ने हुटहुटी पनि चल्यो । त्यसका लागि पनि धेरै ठाउँ प्रयास गरे, विदेश जान पनि खोजे, संघर्ष गरे “तर सोंचे जस्तो हात लागेन । संघर्ष गर्दै गएँ, साहस पनि जुट्दै गयो ।’ बबी भन्छन् । “केही वर्ष यतिकै बित्यो । सोही क्रममा रुपन्देहीमा पनि रेफ्री कोर्ष हुन लागेको थाहा पाएँ । त्यसकै तयारीमा जुटें । अनि सन् २०१९ मा एन्फा रेफ्री कोर्ष पास गरी फुटबल रेफ्री बनें ।”

अलराउण्डर बबी

रेफ्री पेशा अघि उनको अतित खोतल्ने हो भने उनी अलराउण्डर नै हुन् भन्दा पनि फरक पर्दैन । उनीसँगै रेफ्री कोर्ष पास गरेका जिल्ला कै अर्का रेफ्री रुपेन्द्र गुरुङ्ग भन्छन्, “उनी (बबी) सँग क्षमतासँगै अनुशासन छ । फिट र तन्दुरुस्त पनि छन् साथै मेहनती छ, अनि मैदानमा आफ्नो रेफ्री पेशालाई जिम्मेवारीका साथ निर्वाह पनि गर्छन् ।”

रुपेन्द्र गुरुङ्ग कै भनाईसँग सहमत छन्, रुपन्देहीका कै पुराना, सिनियर र नेशनल रेफ्री अमर पुन । पुन भन्छन्, “मैले उस (बबी) लाई चिनेदेखि नै मिलनसार र मेहनती छ । सम्भावना र सफलता हासिल गर्ने क्षमता पनि छ । खेलमा राजनीति लगायतका गलत नीतिहरु नहुने हो भने उ अझै माथी पुग्न सक्छ ।”

हुन पनि बबीसँग बहुप्रतिभा छ । उनी रेफ्री मात्रै नभएर फिटनेस इन्स्ट्रक्चर पनि हुन् । सेनामा भर्ती हुन चाहने युवाहरुका लागि केही वर्ष उनले तालिम दिएर धेरै युवालाई भर्ती पनि गराए । त्यसबाहेक उनी क्रिकेट र ब्याडमिण्टनका पनि राम्रा खेलाडी हुन् । क्रिकेट र ब्याडमिण्टनमा उनले सफलता पनि हासिल गरेका छन् । “तर, खासमा अहिलेलाई फुटबल रेफ्री मात्र ।” बबी हाँस्दै भन्छन् ।

रेफ्री पेशा मै रमाउँदै

फुटबल रेफ्री नै बन्छु भन्ने लागेको थियो त? भन्ने प्रश्नमा बबी भने अनभिज्ञता प्रकट गर्छन् र भन्छन्, “रमाईलोका लागि साथीभाईसँग फुटबल खेलिन्थ्यो । जिल्लाका स्थानीय फुटबल पनि खेलियो । तर रेफ्री नै बन्छु भन्ने सोंचेको थिएन ।”

रेफ्री पेशासँग कत्तिको सन्तुष्टी छ त? भन्ने अर्को प्रश्न गर्दा उनी केही गम्भिर देखिए । बबी भन्छन्, “यहाँ फुटबल खेलाडीको भविष्य त कठिन भईरहेको बेला हामीजस्तो रेफ्रीहरुले कसरी सन्तुष्टी पाइएला र? तर पनि अहिलेलाई रेफ्री पेशा मै रमाईरहेको छु । परिवारको पनि यसैमा साथ मिलिरहेको छ ।”

बबीका अनुसार रेफ्रीहरुका लागि पनि मैदानमा त्यति सहज नहुने उनको बुझाई र तर्क छ । “कतिपटक गाली, धम्की पनि खानुपर्छ । खेल निष्पक्ष भएन भनेर गुनासाहरु पनि आउँछन् । तर हामी रेफ्रीले सबै खेलाडी र टिमलाई हेर्ने नजर एउटै हो । रेफ्रीबाट गल्ती हुनसक्छ तर पक्षपात हुनुहुँदैन । त्यसो हुनु र गर्नु भनेको दुर्भाग्य हो ।”

बबीले रेफ्री कै रुपमा रुपन्देही जिल्लाबाहेक चितवन, गोरखा, कपिलवस्तु, नवलपरासी, धादिङ, काठमाडौं थुप्रै ठाउँमा आफूलाई निर्णायकका रुपमा उभ्याईसकेका छन् । काठमाडौं मै एन्फाद्वारा आयोजित सी डिभिजन लिग र एन्फा युथ लिगमा पनि उनले आफ्नो क्षमता प्रदर्शन गरिसकेका छन् ।

तर उनी अगाडी बढ्न चाहन्छन् । बबी भन्छन्, “सहज छैन, तर लक्ष्य फिफा रेफ्री बन्ने पनि छ । प्रयास गर्दै जान्छु, अरुले लेखेको सपना देख्दै गर्लान, म आफैले कोरेको सपना पूरा गर्ने प्रयास गर्छु ।”

 

Post Comments