News रोमाञ्चक जितका साथ सिद्धार्थ सेमिफाइनलमा
सुरज राना मगर

बुटवल । रोमाञ्चक जित हात पार्दै सिद्धार्थ युवा क्लब बुटवलमा जारी प्रथम स्व. प्रचण्ड थैव स्मृति नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको अन्तिम क्वाटरफाइनलमा सिद्धार्थले जनज्योति क्लबलाई २–१ ले हराउँदै सेमिफाइनल यात्रा सुनिश्चित गरेको हो । बुटवल–७ दिपनगर स्थित सिद्धेश्वरी खेलमैदानमा भएको प्रतिस्पर्धात्मक खेलको चौथो मिनटमै सबी गुरुङको गोलबाट सिद्धार्थले खेलमा अग्रता बनाएको थियो ।

खेलमा विपक्षी विरुद्ध दबाबपुर्ण प्रदर्शन गरेको सिद्धार्थका लागि ४९औं मिनटमा सरोज क्षेत्रीले दोस्रो गोल गरे । जुन सिद्धार्थका लागि खेलको निर्णायक गोल पनि बन्यो । उता पराजित जनज्योतिका लागि ५८औं मिनटमा मिशन दर्लामीले गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे तापनि सफल भएनन् ।

बुधबारको खेलको म्यान अफ द म्याच बिजयी टोली सिद्धार्थ कै सबी गुरुङ घोषित भए । उनलाई आयोजक सौभाग्य युवा क्लबका पूर्व अध्यक्ष दिपक शेरचनले पुरस्कृत गरे ।

सेमिफाइनल समिकरण पनि पूरा

आयोजक क्लबका सल्लाहकार राजेन्द्र रिजाल (राजु) का अनुसार बुधबारको खेलसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पनि पूरा भएको छ । बुधबार जित हात पारेको सिद्धार्थले सेमिफाइनलमा अब पौष ३ गतेका दिन आयोजक सौभाग्य युवा क्लबसँग खेल्नेछ ।

प्रतियोगिता अन्तरगत पौष २ गते बिहीबारको पहिलो सेमिफाइनल खेल झरना स्पोर्टस क्लब र शिवनगर युवा क्लबबीच हुने समेत सल्लाहकार रिजालले जानकारी दिए ।

सौभाग्य युवा क्लब, बुटवल–७ दिपनगरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले २५,५५५ रुपैयाँ प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष दिपक गुरुङले बताए ।

रुपन्देही, नवलपरासी र पाल्पाका गरी कुल २० टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भने आउँदो पौष ५ गतेका दिन हुने आयोजकले जनाएको छ ।

 

Post Comments