
इलाम । साविक विजेता समेत रहेको न्युरोडटिम (एनआरटी) ले शनिबार सम्पन्न एनआरएनए दोस्रो इलाम गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
उपाधि रक्षासँगै लगातार दोस्रोपटक विजेता बन्ने क्रममा एनआरटीले चर्च ब्वाईज युनाइटेडलाई ३–० ले हरायो । एनआरटीको जितमा अन्जन बिष्टले दुई गोल गर्दा थप एक गोल नेमारले गरे ।
विजेता बनेको एनआरटीले उपाधिसहित नगद १० लाख हात पार्यो भने उपविजेता चर्च ब्वाईजले ५ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बन्यो । एनआरटीका शिशिर लेखी फाइनल खेलको म्यान अफ दि म्याच चुनिए । उनले त्यसवापत नगद ८१०० र ट्रफी हात पारे ।
त्यस्तै अन्य विधातर्फ उत्कृष्ट गोलरक्षक एनआरटी कै बिशाल सुनार बन्दा उत्कृष्ट डिफेन्डर एनआरटी कै आशिष गुरुङ चुनिए । उत्कृष्ट मिडफिल्डर चर्च ब्वाईजका रोहन कार्की बन्दा उत्कृष्ट प्रशिक्षक एनआरटीका जिवन सिन्केमान घोषित भए । उत्कृष्ट बनेका सबैले नगद जनही ११५०० सहित ट्रफी हात पारे ।
उदीयमान खेलाडी घरेलु टोली रेड हर्षका अर्जुन गुरुङ्ग चुनिए । उनले पनि नगद ११५०० र ट्रफी हात पारे । प्रतियोगिताभरि कुल ३ गोल गरेका एनआरटीका कप्तान अन्जन बिष्टले सर्वाधिक गोलकर्ता बने वापत नगद ११५०० रुपैयाँ सहित ट्रफी हात पारे ।
प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी पनि अन्जन बिष्ट नै घोषित भए । त्यसवापत उनले नगद ३५००० रुपैयाँ र ट्रफी हात पारे । विजेता तथा उपविजेता टोलीका खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी इलाम नगरपालिकाका नगर प्रमुख केदार थापा लगायतले पुरस्कृत गरे ।