
बिर्तामोड । काठमाडौँको न्यू रोड टिम यहाँ जारी झापा कप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । कप्तान अञ्जन विष्टको ह्याट्रिक मद्दतले एनआरटीले सेमिफाइनलमा स्थान बनाएको हो । एनआरटीले काठमाडौँ जिल्ला लिग विजेता चित्लाङ एफसीमाथि ५-१ को फराकिलो अन्तरले जित दर्ता गरेको हो ।
बिहीबारको खेलसँगै सेमिफाइनल समीकरण पनि पूरा भएको छ । खेलको १३औँ मिनेटमा एनआरटीले कप्तान अञ्जन विष्टको गोलबाट अग्रता लिएको थियो । विदेशी खेलाडी नेमारको क्रस पासमा उनले सुरुवाती अग्रता दिलाएका हुन् । ३६औँ मिनेटमा अञ्जनले पेनाल्टीमार्फत गोल गर्दै अग्रता दोब्बर बनाए । चित्लाङका डिफेन्डर गौरव श्रेष्ठले अञ्जनलाई फाउल गरेपछि पाएको पेनाल्टीलाई उनैले गोलमा परिणत गरे ।
खेलको ४२औँ मिनेटमा चित्लाङले १ गोल फर्कायो । चित्लाङका लागि विदेशी खेलाडी फाजिलको हेडरलाई जनक कोइरालाले गरेको भली प्रहार सुन्दर गोल भएको थियो । ६५औँ मिनेटमा अञ्जनको पासमा मैदानको मध्यभागबाट सिंगल खेल्दै नेमारले एनआरटीका लागि अर्को गोल थपे । ६८औँ मिनेटमा शिशिर लेखीले गोल थप्दै खेललाई ४-० को अवस्थामा पुर्याए । नेमारको पासमा डिबक्समा अनमार्क रहेका लेखीले गोल गर्न सफल भएका थिए । ८८औँ मिनेटमा पेनाल्टीमार्फत एनआरटीले गोल थप्यो । गौरव श्रेष्ठले अञ्जनलाई फाउल गरेपछि पाएको पेनाल्टी सदुपयोग गर्दै अञ्जनले ह्याट्रिक पूरा गरेका हुन् । जारी प्रतियोगितामा ह्याट्रिक गर्ने उनी एक्ला खेलाडी बनेका छन् ।
एनआरटीले गतवर्ष यही रंगशालामा भएको झापा गोल्डकपमा चर्च ब्वाइजसँग १-० को हार व्यहोरेको थियो । भर्खरै सम्पन्न इलाम गोल्डकपको एनआरटी च्याम्पियन हो । खेलको प्लेयर अफ द म्याच एनआरटीका कप्तान अञ्जन विष्ट भए । उनले नगद १० हजार रुपैयाँ पुरस्कार पाए ।
शुक्रबारको पहिलो सेमिफाइनल खेल सिरहाको सलहेश युवा क्लब र चर्च ब्वाइज युनाइटेड काठमाडौँबीच हुने आयोजकले जनाएको छ । एनआरटीले इटहरीको राष्ट्रिय जागृति क्लबसँगको भेट पक्का गरेको छ । प्रतियोगिताको विजेताले नगद १० लाख तथा उपविजेताले नगद ५ लाख पुरस्कार पाउने आयोजक झापा ११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिए । प्रतियोगिताको फाइनल खेल पुष ८ गते हुनेछ ।