बुटवल । रोमाञ्चक जितका साथ स्व. मान बहादुर विश्वकर्मा स्मृति दोस्रो मण्डे फुटसल कप राष्ट्रिय फुटसल प्रतियोगिताको उपाधि हिमालयन एफसी, काठमाडौंले जितेको छ ।
बुटवल स्थित स्वर्णिम फुटसलमा शनिबार भएको फाइनलमा हिमालयनले अभिषेक चर्च, रजहरलाई ४–३ ले हराउँदै उपाधि उचाल्न सफल भएको हो । विजेता बनेको हिमालयनले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पारे भने उपविजेता अभिषेक चर्चले ५०,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।
हिमालयनका दिपेश श्रेष्ठ उत्कृष्ट गोलरक्षक बन्दा देवदह ब्वाईजका सुरज चौधरीले सर्वाधिक गोलकर्ताको पुरस्कार जिते । प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी भने अभिषेक चर्चका शुभराज महत घोषित भए । व्यक्तिगत विधातर्फ उत्कृष्ट बनेका सबैले जनही ५–५ हजार र ट्रफी प्राप्त गरे ।
विजेता तथा उपविजेता टोलीका खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी सशस्त्र प्रहरी बल, भैरहवाका प्रहरी उपरीक्षक आनन्द थापा, आयोजक मण्डे एफसीका अध्यक्ष रवि विश्वकर्मा, खेल संयोजक सुरज थापा लगायतले पुरस्कृत गरेका थिए ।
मण्डे एफसी, बुटवलको आयोजना तथा शिव श्रीराम गुल्मेली सुनचाँदी पसल, बुटवलको मुख्य प्रायोजनमा सम्पन्न भएको दुई दिने प्रतियोगितामा रुपन्देहीसहित नवलपरासी, नवलपुर र काठमाडौंका गरी कुल २० टोलीहरुले सहभागिता जनाएका थिए ।