News बागलुङमा दोस्रो स्मृति कप शुरु
सुरज राना मगर

बागलुङ । बागलुङ एकता क्लब, बागलुङको आयोजनामा शुरु भएको दोस्रो स्मृति कप खुला नकआउट फुटबल प्रतियोगितामा श्री मेहर गण र नारायण दल गणले विजयी शुरुवात गरेका छन् ।

बाङ्गेचौर खेलमैदानमा भएको उद्घाटन खेलमा श्री मेहर गणले आयोजक बागलुङ एकता क्लबलाई ३–० ले हरायो । श्री मेयर गणका लागि बिकास मगर, प्रकाश निरौला र जिवन राईले गोल गरे । खेलमा मेहर गणका बिकास मगर म्यान अफ दि म्याच चुनिए ।

दोस्रो खेलमा नारायण दल गणले खेलकुद विकास समिति, बागलुङ–६ लाई ४–० को अन्तरले हरायो । नारायण दल गणको जितमा धिरेन्द्र शाहीले ह्याट्रिक गरे भने थप एक गोल सुनिल चौधरीले गरे । खेलमा ह्याट्रिककर्ता नारायण दल गणका धिरेन्द्र शाही म्यान अफ दि म्याच चुनिए ।

जित हात पारेका दुवै टोली क्वाटरफाइनलमा प्रवेश गरेका छन् । त्यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रमकी प्रमुख अतिथी भूतपूर्व एमालेकी माननीय सांसद मना कुमारी जिसी, आयोजक क्लबका अध्यक्ष इन्सान थापा लगायतले गरेका थिए ।

आउँदो माघ ५ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,२२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ६६,६६६ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

Post Comments