
घोराही । बिएफएल फुटबल क्लब, घोराही, दाङको आयोजनामा शुक्रबारदेखि शुरु भएको दोस्रो बिक्रम पुन स्मृति कप खुला नकआउट फुटबल प्रतियोगितामा लुम्बिनी फुटबल एकेडेमीले विजयी शुरुवात गरेको छ ।
घोराही–१८, दाङ स्थित नवलपुर खेलमैदानमा भएको उद्घाटन खेलमा लुम्बिनीले टरिगाउँ युवा क्लबलाई पेनाल्टी शुटआउटमा हराउँदै विजयी शुरुवात गरेको हो ।
त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले २–२ गोलको बराबरी खेलेका थिए । निर्धारित समयतर्फ लुम्बिनीका लागि रितेश मल्ल र सुजन बिकले गोल गरेका थिए भने टरिगाउँका लागि डिक्सन केसी र एलिस रसाइली गोल गरेका थिए ।
पेनाल्टी शुटआउटमा भने लुम्बिनीले टरिगाउँमाथि ४–२ को जित निकाल्न सफल भयो । खेलमा लुम्बिनीका गोलरक्षक हिमाल नेपाली म्यान अफ द म्याच घोषित भए । यो जितसँगै लुम्बिनी एफए क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ ।
कुल १८ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,२२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,११,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल भने माघ २६ गतेका दिन हुनेछ ।