
बागधुरा । झरना स्पोर्टस क्लब, कुञ्जलापुर जारी स्व. लाल बहादुर तथा डम्मरकुमारी छन्तेल स्मृति सातौं सञ्जिवनी कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार भएको तेस्रो क्वाटरफाइनलतर्फ झरनाले टाईब्रेकरमा अमुवा युवा क्लब, अमुवालाई हराउँदै अन्तिम चारमा स्थान बनाउन सफल भएको हो । निर्धारित समयको रोमाञ्चक खेल ३–३ को बराबरीमा टुंगिएपछि खेलको निर्णय टाईब्रेकरबाट लिनु परेको थियो ।
निर्धारित समयतर्फ झरनाका लागि रोहित सुनारले ह्याट्रिक गरे । झरनाका लागि रोहितले नै एउटा पेनाल्टीलाई सदुपयोग गर्न नसक्दा खेल टाईब्रेकरतर्फ धकेलिएको थियो । उता अमुवाका लागि भने निखिल नेपालीले दुई गोल गर्दा थप एक गोल बिबेक थारुले गरे ।
टाईब्रेकरमा भने झरनाले अमुवामाथि ४–२ को जित निकाल्दै सेमिफाइनल यात्रा तय गर्न सफल भयो । खेलमा पराजित अमुवाका गोलरक्षक मनोज नेपाली म्यान अफ दि म्याच घोषित भए ।
प्रतियोगिता अन्तर्गत माघ २३ गते बुधबारको चौथो तथा अन्तिम क्वाटरफाइनल खेल लिस्नु युवा क्लब, कोटिहवा र नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटिपिपल बीच हुने खेल संयोजक खिम थापाले जानकारी दिए ।
सञ्जिवनी युवा क्लब, तिलोत्तमा–१४, बागधुरा, देवीनगरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,२२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ६१,१११ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल माघ २७ गतेका दिन हुनेछ ।