
बुटवल । रुपन्देहीको खेलकुदसँगै सामाजिक कार्यमा पनि सक्रिय रहेको लखन ब्रदर्श युथ क्लब, बुटवल–८, सुख्खानगरको आयोजनामा मंगलबारदेखि लखन कप खुला नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ ।
बुटवल–७, दिपनगर स्थित सिद्धेश्वरी खेलमैदानमा भएको उद्घाटन खेलमा आयोजक लखन ब्रदर्श युथ क्लब (सेतो) ले चाँदनी युवा क्लब, दानापुरलाई ५–१ ले हराउँदै उत्कृष्ट शुरुवात गर्यो ।
लखन ब्रदर्श (सेतो) का लागि मिलन आले र प्रेम थापाले दुई–दुई गोल गरे । थप एक गोल भने समुन्द्र ज्ञवालीले गरेका थिए । उता पराजित चाँदनीका लागि भने बिकास सिंजालीले एक मात्र गोल फर्काएका थिए ।
खेलमा लखन ब्रदर्श (सेतो) का मिलन आले म्यान अफ दि म्याच चुनिए । यो जितसँगै लखन ब्रदर्श (सेतो) क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत माघ २३ गते बुधबारको खेल सौभाग्य युवा क्लब, दिपनगर र इभोलुशन क्लब अफ बुटवल, तामनगरबीच हुने खेल संयोजक राम थापाले जानकारी दिए ।
त्यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डे, आयोजक क्लबका अध्यक्ष सुदिप खत्री लगायतले संयुक्त रुपमा गरेका थिए ।
आउँदो फागुन ७ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,५१,५१५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ७५,७५७ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक राम थापाले बताए ।