
कटारी । च्याम्पियन ब्वाईज क्लब, काठमाडौं जारी पाँचौं कटारी मेयर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने तेस्रो टोली बनेको छ ।
सोमबार भएको तेस्रो क्वाटरफाइनलतर्फ च्याम्पियन ब्वाईजले साम्सी फुटबल क्लब, भुटानलाई ३–१ ले हराउँदै अन्तिम चारको यात्रा तय गर्न सफल भएको हो । च्याम्पियन ब्वाईजका लागि सौर्य राउतले दुई गोल गर्दा उमेश याङमाले अर्को गोल गरेका थिए । पराजित साम्सीका लागि भने आयुब डुप्पाले एक मात्र गोल फर्काएका थिए ।
खेलमा दुई गोल गरेका च्याम्पियन ब्वाईजका सौर्य राउत म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत फागुन १३ गते मंगलबारको अन्तिम क्वाटरफाइनल खेल बागमती युवा क्लब, सर्लाही र सलहेश युवा क्लब, सिराहाबीच हुने आयोजकले जानकारी दियो ।
नगर युवा तथा खेलकुद विकास समिति, कटारी, उदयपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले २ लाख प्राप्त गर्नेछ । फाइनल खेल फागुन १७ गतेका दिन हुनेछ ।