
बिराटनगर । प्रतिस्पर्धात्मक नतिजा र जित निकाल्दै थ्रीस्टार क्लब, ललितपुर जारी बिराट गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
प्रतियोगिताको पहिलो सेमिफाइनलतर्फ थ्रीस्टारले विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब, काठमाडौंलाई ३–२ ले हराउँदै उपाधि नजिक पुग्न सफल भएको हो ।
शहिद रंगशालामा भएको खेलमा थ्रीस्टारका लागि प्रशान्त लिम्बु, दिपेश घले र नबिन लामाले गोल गरे । पराजित आर्मीका लागि भने नवयुग श्रेष्ठ र निरज चौधरीले गोल फर्काएका थिए ।
खेलमा थ्रीस्टारका प्रशान्त लिम्बु म्यान अफ दि म्याच बने । उनले पुरस्कार वापत नगद ११ हजार र ट्रफी हात पारे । प्रतियोगिता अन्तर्गत फागुन २६ गते सोमबारको दोस्रो सेमिफाइनल खेल चर्च ब्वाईज युनाइटेड, ललितपुर र नेपाल पुलिस क्लब, काठमाडौंबीच हुनेछ ।
बिराट गोल्डकप आयोजक समितिको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ११ लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । फाइनल खेल भने फागुन २८ गतेका दिन हुनेछ ।