News बगान युथ क्लब बन्यो तेस्रो बुट्टाबारी च्यालेन्ज कप च्याम्पियन
गोलनेपाल

बितामोड । तेस्रो संस्करणको बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि कचनकवलको बगान युथ क्लबले जितेको छ ।

बिर्तामोड–६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनल खेलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २–१ गोल अन्तरले हराउँदै बगान च्याम्पियन बनेको हो ।

उपाधिसँगै बगानले नगद २ लाख २ हजार २२२ रुपैयाँ, ट्रफी र मेडल पाएको छ । उपविजेतामा सीमित बुट्टाबारीले नगद एक लाख एक हजार १११ रुपैयाँ, ट्रफी र मेडल प्राप्त गरेको छ ।
बगानको जितका लागि पहिलो हाफको अतिरिक्त समयमा फ्रेंक्लिन ताला र खेलको ६९ औँ मिनेटमा अभिषेक गुरुङले गोल गरे । खेलको ७८ औँ मिनेटमा बुट्टाबारीका आकाश राईले सान्त्वाना एक गोल फर्काए ।

फाइनल खेलको प्लेयर अफ द म्याच बगानका मिलन राई भए । उनले नगद ३ हजार र ट्रफी पाए । त्यस्तै, उच्च गोलकर्ता बुट्टाबारीका आकाश राई, उदीयमान खेलाडी बुट्टाबारीका अतित राई र उत्कृष्ट गोलकिपर बगानका देवेन भूजेल भए । उनीहरुले जनही १० हजार रुपैयाँ र ट्रफी पाए ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बुट्टाबारीका गोलकिपर अभिषेक चौधरी भए । उनले नगद १५ हजार, ट्रफी र मेडल पाए ।

विजेता तथा उपविजेतालाई प्रमुख अतिथि बिर्तामोडका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, झापा जिल्ला खेलकुद विकास समितिका अध्यष प्रशान्त भण्डारी, प्रायोजक कनकाई हस्पिटलका अध्यक्ष युवराज डाँगी, बिर्तामोड–६ का वडा अध्यक्ष सूर्यप्रसाद कन्दङवा, वडा नम्बर ५ का वडा अध्यक्ष रोहित प्रसाईं, समाजसेवी रामुकमार कन्दङवा, हरियाली सामुदायिक वनका सचिव कृष्णमाया चौधरी, क्लबका अध्यक्ष हिमाल कन्दङवा लगायतले पुरस्कार वितरण गरेका थिए ।
बुट्टाबारी युनाइटेड क्लबले आयोजना गरेको प्रतियोगितामा ८ टोली सहभागी थिए ।

Post Comments