News चौबिसे र धनकुटा सेमिफाइनलमा
गोलनेपाल

धनकुटा । चौबिसे गाउँपालिका र धनकुटा नगरपालिका यहाँ जारी पालिकास्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम दुई टोली बनेका छन् ।

सिन्धुवा खेलमैदानमा भएको दिनको पहिलो खेल र तेस्रो क्वाटरफाइनलतर्फ चौबिसले छथर गाउँपालिकालाई २–१ ले पराजित गर्यो । चौबिसेको जितमा मदन मगर र प्रतिक मगरले गोल गरे । पराजित छथरका लागि भने पवन लिम्बुले एक मात्र गोल गरेका थिए । खेलमा चौबिसेका प्रतिक मगर म्यान अफ दि म्याच बने ।

दिनको दोस्रो खेल र चौथो क्वाटरफाइनलतर्फ धनकुटाले साँगुरीगढी गाउँपालिकालाई सडन डेथमा हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले २–२ गोलको बराबरी खेलेका थिए । निर्धारित समयतर्फ धनकुटाका लागि दुवै गोल दिपेन शाक्यले गरे भने साँगुरीगढीका लागि बिक्रम याक्खा र बिबेक याक्खाले गरेका थिए ।

निर्धारित समयको खेल बराबरीमा टुंगिएपछि खेलको निर्णय टाईब्रेकरबाट लिइएको थियो । टाईब्रेकरमा पनि नतिजा निस्कन नसकेपछि सडन डेथमा धनकुटाले साँगुरीगढीमाथि ५–४ को जित निकाल्दै अन्तिम चारमा स्थान बनाउन सफल भयो । खेलमा धनकुटाका दिपेन शाक्य म्यान अफ दि म्याच बने ।

प्रतियोगिता अन्तर्गत चैत्र ३ गते आइतबार दुवै सेमिफाइनल खेलहरु हुनेछन् । पहिलो सेमिफाइनल खेल छथर जोरपाटी गाउँपालिका र शहिद भूमि गाउँपालिका बीच हुनेछ भने सोही दिन हुने दोस्रो सेमिफाइनल खेल धनकुटा नगरपालिका र चौबिसे गाउँपालिकाबीच हुनेछ ।

सिन्धुवा सिंहदेवी युथ क्लब, धनकुटाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले ७५ हजार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष दिवेश खड्काले बताए । प्रतियोगिताको समापन भने चैत ४ गतेका दिन हुनेछ ।

Post Comments