News तेस्रो नेपाल सुपर लिग, तेस्रो दिन मै विवादित
गोलनेपाल

काठमाडौं । बहुप्रतिक्षित फ्रेन्चाईज नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण जारी रहँदा लिगको तेस्रो दिन नै विवादित बन्न पुगेको छ । लिग अन्तर्गत तेस्रो दिन सोमबार एफसी चितवन र पोखरा थन्डर्स बीचको खेल शुरु हुनु अघि विवाद थपिएको हो ।

खेल शुरु हुनुअघि नै चितवनले श्रम स्वीकृति नभएका पाँच खेलाडीहरुलाई टिमको पहिलो रोजाई मै राखेर खेलाउन खोजेपछि विवाद चर्किएको हो । सोही विवादका कारण चितवन र पोखरा बीचको खेल निर्धारित समय भन्दा करिब २० मिनट ढिला शुरु भएको थियो ।

चितवनले श्रम स्वीकृति नभएका पाँच खेलाडीहरुलाई पहिलो रोजाई मै उतार्यो र खेल २–० ले जित्यो । यद्यपि पोखरा थन्डर्सले यसबारे असन्तुष्टी पोख्दै प्रोटेष्ट हाल्ने बताए पनि आयोजकसँगको छलफल पश्चात् खेल सुचारु गरिएको थियो । चितवनले श्रम स्वीकृति नभएका पाँच खेलाडीहरु खेलाएपछि पोखराले पनि श्रम स्वीकृति नभएका स्टेफन बिनोङलाई मैदानमा उतारेको थियो ।

यद्यपि पोखराका प्रशिक्षक सुमन श्रेष्ठले देश–विदेशका चर्चित खेलाडीहरुको सहभागिता रहने र प्रतिष्ठित मानिएको सुपर लिग मै यस किसिमको विवाद हुनु प्रतियोगिता आयोजनाका लागि आउने दिनहरुमा राम्रो संकेत नरहेको बताएका छन् । विदेशी खेलाडीहरुलाई अन्य देशमा खेल्दा वा खेल्न जाँदा भिजासँगै श्रम स्वीकृति पनि चाहिने भएकाले आयोजकले यस्ता कुराहरुमा गम्भिर हुनुपर्ने सुझाए ।

उता चितवनका प्रशिक्षक नविन न्यौपानेले टिम व्यवस्थापनको तर्फबाट सबै कागजी प्रक्रिया पूरा भईसकेको जानकारी आफूलाई प्राप्त भएको प्रतिक्रिया दिए । तर केही कारणवश कागजपत्रहरु आउनमा ढिलाई भएको प्रशिक्षक न्यौपानेको भनाई थियो ।

त्यस्तै उता चितवनका क्लब मालिक सचिन ढकालले आफ्नो क्लबले विदेशी खेलाडीहरुका लागि सबै कागजी प्रक्रिया पूरा गरेर उनीहरुलाई मैदानमा उतारेको बताउँदै चितवनले खेल्दा यस्तो विवाद निकाल्नुमा आफूलाई आश्चर्य लागेको बताए । “यसअघिका सुपर लिगमा पनि केही क्लबहरुले प्रक्रिया पूरा नगरी विदेशी खेलाडी खेलाउँदा त्यतिबेला विरोध गर्नेहरु कहाँ थिए?” भन्दै ढकालले प्रतिप्रश्न समेत गरे । ढकालका अनुसार आफूहरुले खेल भावना र नियमअनुसार सबै प्रक्रिया पूरा गरेको बताउँदै यस्ता आलोचना र विरोधले आफ्नो क्लबको मनोबल नगिर्ने बताए । साथै फुटबल विकासमा आफूहरु सधै सकरात्मक रुपमा अगाडी बढ्ने उनले विश्वास समेत व्यक्त गरे । 

खैर खेल शुरु हुनु अघि देखा परेका यस्ता विवादले खेलाडी र समग्र टिम मै प्राविधिक र मानसिक असर पर्न सक्ने सम्भावना हुन्छ । देशको फुटबल विकासका लागि भनेर आयोजना गरिएको फ्रेन्चाईज लिग मै यस्ता विवादहरु हुनुलाई राम्रो संकेत मान्न सकिंदैन । सम्बन्धित पक्षले यस विषयलाई गम्भिरताका साथ लिएर निश्चित योजना र नियम बनाई लिगसँगै फुटबल विकासका लागि अगाडी बढनुपर्छ ।

Post Comments