
जितपुरसिमरा । शुक्रबारदेखि रात्रीकालिन रुपमा शुरु भएको प्रतिष्ठित १५औं जितपुरसिमरा गोल्डकप नकआउट फुटबल प्रतियोगितामा हनामी बिएफसी, चितवनले विजयी शुरुवात गरेको छ ।
सिमरा रंगशालामा भएको उद्घाटन खेलमा बिएफसीले सलहेश युवा क्लब, सिरहालाई २–१ ले हराउँदै विजयी शुरुवात गरेको हो । खेलमा बिएफसीका राज भुषाल म्यान अफ दि म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १० हजार हात पारे ।
यो जितसँगै बिएफसी सेमिफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत चैत्र २३ गते शनिबारको दोस्रो क्वाटरफाइनल खेल आयोजक नव जनजागृति युवा क्लब, सिमरा र रिगल हेटौडा रिसोर्ट एन्फा मकवानपुरबीच हुने आयोजकले जानकारी दियो ।
नव जनजागृति युवा क्लब, सिमरा, बाराको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही चैत्र २९ गतेका दिन हुनेछ ।