News १५औं जितपुरसिमरा गोल्डकपः आयोजक नव जनजागृति सेमिफाइनलमा
गोलनेपाल

जितपुरसिमरा । झिनो अन्तरको जितका साथ आयोजक नव जनजागृति युवा क्लब, सिमरा यहाँ जारी १५औं जितपुरसिमरा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको दोस्रो क्वाटरफाइनलतर्फ नव जनजागृतिले रिगल हेटौडा रिसोर्ट एन्फा मकवानपुरलाई १–० ले हराउँदै अन्तिम चारमा स्थान बनाउन सफल भएको हो ।

सिमरा रंगशालामा भएको खेलको अन्तिमतिर मोहित गुरुङ्गले गरेको उक मात्र गोल घरेलु टोलीलाई अन्तिम चारमा पुर्याउन निर्णायक गोल बन्यो । निर्णायक गोलकर्ता मोहित नै खेलको म्यान अफ दि म्याच पनि चुनिए । उनले पुरस्कार वापत नगद १० हजार र ट्रफी हात पारे ।

प्रतियोगिता अन्तर्गत चैत्र २४ गते आइतबारको तेस्रो क्वाटरफाइनल खेल नेपाल पुलिस क्लब, काठमाडौं र मच्छिन्द्र फुटबल क्लब, काठमाडौंबीच हुने आयोजकले जानकारी दियो ।

नव जनजागृति युवा क्लब, सिमरा, बाराको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही चैत्र २९ गतेका दिन हुनेछ ।

Post Comments