News कठिन जित निकाल्दै रेडहर्ष एफसी पॉचौ सन्दकपुर गोल्डकपको सेमिफाइनलमा
गोलनेपाल

सन्दकपुर । इलामको रेडहर्ष एफसी पॉचौ सन्दकपुर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सात खाल्डे सहिद खेल मैदानमा आज सम्पन्न दोस्रो क्वाटर फाइनलमा कोशी प्रदेश प्रहरी टिम बिराटनगर रानीलाई पेनाल्टि सुटआउटमा ४-३ गोल अन्तरले पराजित गर्दै रेडहर्ष इलाम सेमिफाइनल पुगेको हो ।

निर्धारित समयमा दुबै टिमबाट एक एक गोलको बराबरी भए पछि नतिजा पेनाल्टी सुट आउट मार्फत निकालिएको हो । पहिलो हाफको २०औँ मिनेटमा सन्देश खवासको गोल मार्फत रेडहर्षले अग्रता बनाएको थियो ।खेलको ८२औँ मिनेटमा कोशि प्रहरीका अभिशेक आलेमगरले गोल गर्दै खेललाइ बराबरीमा पुर्याएका थिए ।

त्यसपछिको समयमा दुबै टिमबाट थप गोल हुन नस्कदा खेल पेनाल्टि सुट आउटमा पुगेको हो । पेनाल्टि सुट आउटमा रेडहर्षका गोल रक्षक निशम दनुवारले प्रहरीका दुइ प्रहारहरू रोकेका थिए भने प्रहरीका गोल रक्षक प्रज्वल श्रेष्ठले रेडहर्षको एक प्रहार बिफल पार्दिए ।

खेलको म्यान अफ दि म्याच रेडहर्षका गोल रक्षक निशम दनुवार घोषित हुँदै दुइ हजार पॉचसय सहित ट्रफि प्राप्त गरे । भोली चैत्र २७ गते बुधबार तेस्रो क्वाटर फाइनलमा चुलाचुली स्पोर्टीङ क्लब दमक झापा र ब्रदरहुड फुटबल क्लब बेलका उदयपुर बिच प्रतिस्पर्धा हुनेछ ।

सन्दकपुर गाउँपालिका ३ देउराली स्थित सात खाल्डे सहिद खेलमैदानमा चैत्र २५ गते देखि सुरू प्रतियोगिता वैशाख १ गते सकिनेछ । देउराली स्पोर्टिङ क्लबको आयोजना तथा सन्दकपुर गाउँपालिकाको संरक्षकत्वमा सन्चालित प्रतियोगिताको विजेताले नगद २ लाख ५५ हजार र आकर्षक ट्रफी प्राप्त गर्नेछ ।

आयोजक समितिका अध्यक्ष अइन्द्र राईका अनुसार उपविजेताले नगद १ लाख ५५ हजार र ट्रफी पाउने छ भने प्रत्येक खेलको म्यान अफ दी म्याचले नगद २ हजार ५ सय प्राप्त गर्नेछ ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट फर्वाडर,उत्कृष्ट मिडफिल्डर,सर्वाधिक गोलकर्ता र उत्कृष्ट कोचले जनही ४-४ हजार पाउने आयोजक समितिका उपाध्यक्ष सुरेश थापा मगरले जानकारी दिए ।

Post Comments