
खोक्लिङ । यहाँ जारी २७औं रामनवमी कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा आयोजक सृजनशील सामाजिक युवा समाज र बगान युथ क्लब भिड्ने भएका छन् ।
पहिलो सेमिफाइनलतर्फ सृजनशीलले तारा स्र्पोटिङ क्लबलाई २–० ले हराउँदै फाइनल प्रवेश गर्यो । सृजनशीलको जितमा दिपक लिम्बु र किशोर लिम्बुले गोल गरे । खेलको म्यान अफ दि म्याच पनि सृजनशीलका दिपक लिम्बु चुनिए ।
दोस्रो सेमिफाइनलमा बगानले खोक्लिङ सामाजिक युवा समाजलाई टाईब्रेकरमा ३–१ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । निर्धारित समयतर्फ बगानका लागि लाक्पा तामाङले गोल गरेका थिए भने खोक्लिङका लागि सबिन तामाङले गोल गरेका थिए । खेलमा बगानका गोलरक्षक देबन भुजेल म्यान अफ दि म्याच बने ।
सिर्जनशील सामाजिक युवा समाज, खोक्लिङ, ताप्लेजुङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले ७५ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही चैत्र २८ गतेका दिन हुनेछ ।