
सन्दकपुर । इलामको सन्दकपुर देउरालीमा जारी पॉचौ सन्दकपुर गोल्डकपको सेमिफाइनल समिकरण पुरा भएको छ । सात खाल्डे सहिद खेल मैदानमा आज बिहीबार सम्पन्न अन्तिम क्वाटर फाइनलमा वाइवाइ पॉचथर फुटबल क्लबलाई ३-१ गोल अन्तरले पराजित गर्दै बुट्टाबारी युनाइटेड झापा सेमिफाइनलमा प्रवेश गरेसंगै गोल्डकपको सेमिफाइनल समिकरण पुरा भएको हो ।
बुट्टाबरीको जितका लागि सागर रसाइली,उत्तम लिम्बु र भुपाल मगरले एक एक गोल गरे । पॉचथरका लागि विदेशी खेलाडी फोफोनाले एक मात्र सान्त्वना गोल फर्काए । खेलको म्यान अफ दि म्याच बुट्टाबारीका किस्मत लिम्बु घोषित हुँदै नगद दुइ हजार पॉचसय सहित ट्रफि प्राप्त गरे ।
भोली चैत्र २९ गते शुक्रबार पहिलो सेमिफाइनलमा डॉगिहाट फुटबल क्लब मोरङ र ब्रदरहुड फुटबल क्लब बेलका उदयपुर बिच प्रतिस्पर्धा हुनेछ । दोस्रो सेमिफाइनलमा चैत्र ३० गते शनिबार रेड हर्ष एफसी इलाम र बुट्टाबारी युनाइटेड झापा बिच हुनेछ ।
सन्दकपुर गाउँपालिका ३ देउराली स्थित सात खाल्डे सहिद खेलमैदानमा चैत्र २५ गते देखि सुरू प्रतियोगिता वैशाख १ गते सकिनेछ । देउराली स्पोर्टिङ क्लबको आयोजना तथा सन्दकपुर गाउँपालिकाको संरक्षकत्वमा सन्चालित प्रतियोगिताको विजेताले नगद २ लाख ५५ हजार र आकर्षक ट्रफी प्राप्त गर्नेछ ।
उपविजेताले नगद १ लाख ५५ हजार र ट्रफी पाउने छ भने प्रत्येक खेलको म्यान अफ दी म्याचले नगद २ हजार ५ सय प्राप्त गर्नेछ । व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट फर्वाडर,उत्कृष्ट मिडफिल्डर,सर्वाधिक गोलकर्ता र उत्कृष्ट कोचले जनही ४-४ हजार प्राप्त गर्नेछन ।