
देवीनगर । न्यु एभरेष्ट युवा क्लब, गैडहवा, रुपन्देहीको आयोजनामा शनिबारदेखि शुरु भएको तेस्रो गैडहवा अध्यक्ष कप खुला नकआउट फुटबल प्रतियोगितामा इभोलुसन क्लब अफ बुटवलले विजयी शुरुवात गरेको छ ।
गैडहवा–८, देवीनगर स्थित स्थानीय खेलमैदानमा भएको उद्घाटन खेलमा इभोलुसनले आयोजक न्यु एभरेष्ट युवा क्लबलाई २–० ले हराउँदै विजयी शुरुवात गरेको हो ।
इभोलुसनको जितमा सन्जु सेन ठकुरी र आशिष गुरुङ्गले गोल गरे । खेलको म्यान अफ दि म्याच पनि इभोलुसन कै आशिष गुरुङ्ग घोषित भए । यो जितसँगै इभोलुसन सेमिफाइनलमा समेत प्रवेश गरेको छ ।
प्रतियोगिता अन्तर्गत बैशाख १४ गते आइतबारको दोस्रो क्वाटरफाइनल खेल कपिलवस्तु–११ र योङ ब्वाईज एफसीबीच हुने आयोजकले जानकारी दियो ।
त्यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिी गैडहवा गाउँपालिका, विष्णुपुरा, रुपन्देहीका अध्यक्ष सुरेन्द्र पौड्याल लगायतले गरेका थिए ।
गैडहवा गाउँपालिका, रुपन्देहीको संरक्षकत्वमा शुरु भएको प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,१०,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,०५,१११ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल यही बैशाख २० गतेका दिन हुनेछ ।