
बुटवल । इभोलुशन क्लब अफ बुटवल, तामनगर, रुपन्देहीको आयोजनामा बिहीबारदेखि शुरु तेस्रो इभोलुशन कप खुला नकआउट फुटबल प्रतियोगितामा चाँदनी युवा क्लब, दानापुरले विजयी शुरुवात गरेको छ ।
बुटवल–१२, तामनगर स्थित चारपाला रंगशालामा भएको उद्घाटन खेलमा चाँदनीले रानीबगिया युवा क्लब, रानीबगियालाई टाईब्रेकरमा हराउँदै विजय िशुरुवात गर्न सफल भएको हो ।
निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि टाईब्रेकरमा चाँदनीले रानीबगियामाथि ४–२ को जित निकाल्यो । खेलमा चाँदनीका गोलरक्षक अमन श्रीस मगर म्यान अफ दि म्याच घोषित भए ।
यो जितसँगै चाँदनी क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत बैशाख १९ गते शुक्रबारको खेल समपुर्ण युवा क्लब, सुपौली र हिमालय एफसी, कञ्चनबीच हुने खेल संयोजक टिकाराम भट्टराईले जानकारी दिए ।
त्यसअघि प्रतियोगिताको उद्घाटन बुटवल उपमहानगरपालिका वार्ड नम्बर १२ का वार्ड अध्यक्ष डिल्ली प्रसाद डिल्ली प्रसाद शर्मा, आयोजक क्लबका अध्यक्ष अमर थापा लगायतले संयुक्त रुपमा गरेका थिए ।
आउँदो बैशाख २९ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,५१,१५१ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ७५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।