
सालझण्डी । संघर्षपुर्ण जितका साथ तिलोत्तमा भेट्रान्स रुपन्देहीमा जारी प्रथम विश्व शान्ति भेट्रान्स कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार भएको पहिलो सेमिफाइनलमा तिलोत्तमा भेट्रान्सले दि लिजेण्डस भेट्रान्सलाई पेनाल्टी शुटआउटमा हराउँदै उपाधि नजिक पुगेको हो ।
सालझण्डी स्थित पशुपति माविको खेलमैदानमा निर्धारित समयको प्रतिस्पर्धात्मक खेल गोलरहित बराबरीमा टुंगिएपछि पेनाल्टी शुटआउटमा तिलोत्तमा भेट्रान्स ६–५ ले विजयी बन्यो ।
खेलमा तिलोत्तमा भेट्रान्सका गोलरक्षक राजन श्रेष्ठ म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत बैशाख १९ गते शुक्रबारको दोस्रो सेमिफाइनल खेल आयोजक विश्व शान्ति भेट्रान्स र गुड मर्निङ्ग भेट्रान्स बीच हुने खेल संयोजक रेजिन श्रेष्ठले जानकारी दिए ।
विश्व शान्ति युवा क्लब, सैनामैना–१०, सालझण्डीको आयोजना तथा सैनामैना नगरपालिका वार्ड नम्बर १० को कार्यालय संरक्षक रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५१ हजार हात पार्नेछ भने उपविजेताले २५,५०० प्राप्त गर्नेछ । फाइनल खेल यही बैशाख २० गतेका दिन हुनेछ ।