News फाइनलमा देवदह ब्वाईज, उपाधिका लागि फर्साटिकरसँग भिड्ने
सुरज राना मगर

देवीनगर । प्रभावशाली जितका साथ देवदह ब्वाईज, देवदह रुपन्देहीमा जारी तेस्रो गैडहवा अध्यक्ष कपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा देवदहले शहरी प्रतिद्वन्द्वी योङ ब्वाईज क्लब, देवदहलाई ४–० को अन्तरले हराउँदै उपाधि नजिक पुगेको हो ।

गैडहवा गाउँपालिका–८, देवीनगर स्थित स्थानीय खेलमैदानमा भएको खेलमा देवदह ब्वाईजका लागि सुरज चौधरीले ह्याट्रिक गरे भने थप एक गोल मिलन आलेले गरे । खेलमा ह्याट्रिक गरेका देवदह ब्वाईजका सुरज चौधरी म्यान अफ दि म्याच समेत घोषित भए ।

देवदहले अब बैशाख २० गते हुने फाइनलमा फर्साटिकर युवा क्लब, फर्साटिकरको सामना गर्नेछ । रुपन्देहीमा यी दुई टोली लगातार दोस्रोपटक फाइनलमा भिड्न लागेका हुन् । यसअघि देवदह र फर्साटिकर भैरहवामा सम्पन्न माछापुच्छ्रे कपको फाइनल खेलेका थिए । त्यतिबेला फर्साटिकरले देवदहलाई निराश बनाउँदै उपाधि जितेको थियो ।

न्यु एभरेष्ट युवा क्लब, गैडहवा, रुपन्देहीको आयोजना तथा गैडहवा गाउँपालिका, विष्णुपुरा, रुपन्देहीको संरक्षकत्वमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,१०,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,०५,१११ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल भने यही बैशाख २० गतेका दिन हुनेछ ।

Post Comments