News गोदावरी मेयर कपः बाग्मती बाहिरियो, महालक्ष्मीको पहिलो जित
गोलनेपाल

ललितपुर । बाग्मती गाउँपालिका उपत्यकाव्यापी अन्तरपालिका गोदावरी मेयर कप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ । ललितपुरको च्यासल मैदानमा बुधबार महालक्ष्मी नगरपालिकासँग ५–१ गोल अन्तरले पराजित हुँदै बागमती गाउँपालिका प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको छ ।

बाग्मती प्रतियोगिताबाट बाहिरिएपनि पहिलो जितका साथ महालक्ष्मी नगरपालिकाले सेमिफाइनलमा पुग्ने संभावना जीवित राखेको छ । महालक्ष्मीको जितमा सिद्धान्त अधिकारीले दुई गोल गरे भने रामकृष्ण चौधरी, अमृत चन्द र सनम धितालले समान एक–एक गोल गरे । बगमतीका लागि दिलिप घलानले गोल फर्काए ।

खेलको ३६औं मिनेटमा रामकृष्णको गोलमार्फत महालक्ष्मीले अग्रता लिएको थियो । ४६औं मिनेटमा अमृतले टोलीको अग्रता दोब्बर बनाए । सनमले ६७औं मिनेटमा गोल गर्दा महालक्ष्मीको अग्रता ३–० मा पुग्यो । सिद्धन्तले ७७औं मिनेटमा पेनाल्टीमार्फत टोलीका लागि चौथो गोल गरे ।

दिलिपले ७९औं मिनेटमा बागमतीका लागि गोल फर्काए । इन्जुरी समयमा सिद्धान्तले व्यक्तिगत दोस्रो गोल गर्दा महालक्ष्मी ५–१ ले अगाडि बढ्यो । इन्जुरी समयमै आयुश लामा पेनाल्टीमा चुक्दा बागमतीले गोल अन्तर कम गर्ने मौका गुमायो ।

पहिलो खेलमा आयोजक गोदावरी नगरपालिकासँग ६–१ ले पराजित भएको महालक्ष्मीले अब ललितपुर महानगरपालिकासँग खेल्न बाँकी छ । अघिल्लो खेलमा ललितपुर महानगरसँग ७–३ गोल अन्तरले पराजित बाग्मतीले अब समूह चरणको अन्तिम खेलमा गोदावरी नगरपालिकासँग प्रतिस्पर्धा गर्न बाँकी छ ।

समूह ‘ए’ मा गोदावरी , ललितपुर महानगर र महालक्ष्मीको समान ३–३ अंक छ । यद्यपी गोल अन्तरका आधारमा एक खेल मात्र खेलेको गोदावरी शिर्ष स्थानमा छ । ललितपुर महानगरले पनि एक खेल मात्रै खेलेको छ ।

बिहीबार हुने खेल

गोदावरी मेयरकप फुटबलमा बिहीबार ३ वटा खेल हुनेछ । गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदान बिहीबार विहान सवा ८ बजे काठमाडौं महानगरपालिका र मध्यपुर ठिमी नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ । यसैगरी दिउँसो सवा १२ बजे चन्द्रागिरी नगरपालिका र कागेश्वरी मनोहरा नगरपालिकाबीच खेल हुनेछ । यसैगरी दिउँसो साढे ३ बजे गोदावरी नगरपालिका र ललितपुर महानगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ ।

Post Comments