दिपनगर । रुपन्देहीमा जारी नव एकता कप खुला सेभेन ए साईड फुटबल प्रतियोगिता अन्तर्गत डिएमसी (बी) र बिवाईसी, करौजियाले जित हात पार्दै दोस्रो चरणमा प्रवेश गरेका छन् ।
पहिलो खेलमा डिएमसी (बी) ले लाफा एफसीलाई ५–० को फराकिलो अन्तरले हरायो । डिएमसीको जितमा रेक्सन आलेले ह्याट्रिक गर्दा करन दर्लामी र अजित थापाले समान एक–एक गोल गरे । खेलमा डिएमसीका ह्याट्रिककर्ता रेक्सन आले म्यान अफ द म्याच बने ।
दोस्रो खेलमा बिवाईसीले एमडी गाईजलाई ५–१ को अन्तरले हरायो । बिवाईसीको जितमा निक्की थापाले तीन गोल गरे भने बिशाल सुनारको नाममा एक गोल रह्यो । थप एक गोल भने एमडी गाईजका अरबिन थापाले आत्मघाती गोलका रुपमा गरेका थिए । उता एमडी गाईजका लागि भने प्रिन्स भुषालले एक मात्र गोल फर्काएका थिए । खेलमा बिवाईसीका निक्की थापा म्यान अफ द म्याच बने ।
नव एकता युवा क्लब, तिलोत्तमा–८, प्रदिपनगर तथा प्रदिपनगर टोल विकास संस्थाको संयुक्त आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २५ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही असार २७ गतेका दिन हुनेछ ।