International आर्मीले एएफसी कप खेल्ने पक्का
गोलनेपाल

काठमाडौं । मंगलबार मात्र एएफसी क्लब लाइसेन्स हात पार्न सफल नेपालको विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले आगामी बर्षको प्रतिष्ठित एएफसी कप खेल्ने पक्का भएको छ ।

गत सिजनको कतार एयरवेज ए डिभिजन लिगतर्फ आर्मीले दोस्रो स्थानमा रहेर उपविजेताका रुपमा लिगको समापन गरेको थियो । आर्मीले १३ खेलबाट ९ जित, २ बराबरी र २ हारसँगै कुल २९ अंक जोड्दै दोस्रो स्थानमा रहेको थियो ।

उता लिग च्याम्पियन बनेको मच्छिन्द्र फुटबल क्लबको १३ खेलहरुबाट १० जित, २ बराबरी र १ हारका साथ ३१ अंक थियो । यद्यपि मच्छिन्द्रले एएफसी क्लब लाइसेन्स हात पार्न नसकेपछि एएफसी कपमा नेपालको प्रतिनिधित्व गत सिजनको लिगमा उपविजेता बनेको आर्मीले गर्ने पक्का भएको हो ।

उता अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरन राईले पनि आर्मीले एएफसी कपमा नेपालको तर्फबाट सहभागिता जनाउने पुष्टी गरे । राईका अनुसार लिग च्याम्पियन मच्छिन्द्रले एएफसी क्लब लाइसेन्स हात नपारेकै कारण उसको स्थानमा दोस्रो स्थानको आर्मीले अवसर पाएको बताए ।

२०२० को एएफसी कप स्थगित

यस बर्षको एएफसी कप समूह चरणको खेलहरु पश्चात् कोभिड–१९ महामारीका कारण गत मार्च ११ तारीखका दिन स्थगित गरिएको थियो । साथै स्थगित गरिएका खेलहरु २३ सेप्टेम्बरदेखि फेरि सूचारु गर्ने निर्णय समेत भएको थियो । यद्यपि पछि एएफसीले १० सेप्टेम्बरका दिन यस बर्षको एएफसी कप पूर्णरुपमा रद्द गर्ने निर्णय गरेको थियो ।

२०२१ को एएफसी कप

आगामी बर्ष २०२१ को एएफसी कपतर्फ छनौट चरणका खेलहरु ४ अप्रिलदेखि १९ मईसम्म हुँदैछ । यद्यपि समूह चरणका पूर्ण खेलहरु १४ मईदेखि २६ नोभेम्बरसम्म सञ्चालन हुनेछ ।

गत बर्ष (२०१९) को उपाधि भने लेबनानी क्लब अल–अहिदले जितेको थियो । अल–अहिदले मलेसियन राजधानी क्वाललम्पुरमा सम्पन्न फाइनलमा उत्तर कोरियाली च्याम्पियन अप्रिल २५ लाई १–० ले हराउँदै पहिलोपटक उपाधिमाथि कब्जा जमाएको थियो ।

Post Comments