International आर्सनल नेपालको ११औं वार्षिकोत्सव र सदस्यता वितरण कार्यक्रम सम्पन्न
गोलनेपाल

काठमाडौं । चर्चित इङलिस क्लब आर्सनलको आधिकारिक फ्यानहरुको समूह आर्सनल नेपाल सपोर्टर्स क्लबले आफ्नो वार्षिकोत्सव र नयाँ सदस्यता वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

आर्सनलको आधिकारिक फ्यान क्लब समेत रहेको आर्सनल नेपालमा यस सिजन कुल २०९ नयाँ सदस्यहरु थपिएको क्लबका अध्यक्ष नबिन चित्रकारले जानकारी दिए । सो अवसरमा नवआगन्तुक सदस्यहरुलाई आर्सनल नेपालको परिचयपत्र र प्याकेज वितरण गरिएको थियो ।

सो प्याकेजमा आर्सनल नेपालको स्कार्फ, आर्सनल नेपालको परिचयपत्र र एफए कपको स्पेशल ब्रोच पिन समावेश थिए । सोही अवसरमा आर्सनल क्लबले आधिकारिक रुपमै आफ्ना नेपालका समर्थकहरुलाई शुभकामना समेत पठाएको अध्यक्ष चित्रकारले बताए ।

सो अवसरमा आर्सनल नेपालका उपाध्यक्ष निरोज खतिवडाले क्लबका विभिन्न गतिविधीहरुबारे चर्चा समेत गरेका थिए । नेपालमा स्थापित अन्तर्राष्ट्रिय फुटबल फ्यान क्लबहरुमा पुरानो मध्ये एक आर्सनल नेपालले शनिबार मात्र क्लबको ११औं स्थापना दिवस समेत मनाएको थियो ।

सो अवसरमा आर्सनल नेपालको विवाहित टोली र अविवाहित टोलीबीच मैत्रीपुर्ण फुटसल प्रतियोगिताको समेत आयोजना गरिएको उपाध्यक्ष खतिवडाले जानकारी दिए ।

स्मरण रहोस, आर्सनल क्लबको आधिकारिक मान्यता पाएको आर्सनल नेपाल सन् २००९ को ९ अगस्तका दिन स्थापना भएको थियो । त्यसयता यो फ्यान क्लब विभिन्न खेलकुद र सामाजिक गतिविधीमा सक्रिय पनि छ ।

 

 

Post Comments