
काठमाडौं । शहिद स्मारक बी डिभिजन लिगको शुक्रबार समापन भएसँगै लिगको विजेता भने प्लानिङ ब्वाईज युनाइटेड बनेको छ । प्लानिङ ब्वाईजले आफ्नो अन्तिम खेलमा टुसाल युथ क्लबलाई ८–३ को फराकिलो अन्तरले हरायो ।
यो नतिजापछि १३ खेलबाट अपराजित रहँदै ३३ अंक जोडेको प्लानिङ ब्वाईज शिर्ष स्थानमा रहेर लिग विजेताका रुपमा सिजनको समापन गर्न सफल भयो ।
त्यस्तै शुक्रबार नै भएको अर्को खेलमा दोस्रो स्थानको टोली श्री भगवती क्लबले सरस्वती युवा क्लबसँग २–३ को पराजय बेहोर्यो । हारका बावजुद १३ खेलबाट २६ अंक जोडेको भगवती दोस्रो स्थानमा रह्यो । स्मरण रहोस, प्लानिङ ब्वाईज र श्री भगवती यसअघि नै ए डिभिजन लिगमा बढुवा भईसकेका छन् । त्यसैगरी टुसाल युथ क्लब र नयाँवस्ती क्लब भने सी डिभिजन लिगमा घटुवा भएका छन् ।
लिग विजेता बनेको प्लानिङ ब्वाईजले उपाधिसहित नगद १५ लाख हात पार्यो भने दोस्रो स्थानको टोली श्री भगवतीले १० लाख प्राप्त गर्यो । तेस्रो स्थान हासिल गरेको ब्वाईज युनियनले ५ लाख प्राप्त गर्यो । प्लानिङ ब्वाईजका प्रताप सिंह राई सर्वश्रेष्ठ खेलाडी घोषित भए । त्यसवापत उनले नगद १ लाख हात पारे ।
अन्य विधातर्फ उत्कृष्ट गोलरक्षक बिरगंज युनाइटेडका प्रमिजय गच्छदार बन्दा सर्वाधिक गोलकर्ताको पुरस्कार प्लानिङ ब्वाईजका फागुराम थारुले हात पारे ।
समापन कार्यक्रमका प्रमुख अतिथी युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतले टिम र खेलाडीहरुलाई एक कार्यक्रमका बीच पुरस्कृत गरेका थिए ।