News आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
गोलनेपाल

काठमाडौं । राष्ट्रिय खेलाडी आशिष राईले आफ्नो चोटपछिको उपचारमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले बेवास्ता र लापरवाही गरेको भन्ने कुरा पनि बाहिरिएपछि शुक्रबार एन्फाले यसबारे आफ्नो भनाई र धारणा सार्वजनिक गरेको छ ।

आशिष राईले केही दिन अघि मात्रै भिडियो सन्देशमार्फत एन्फाले आफ्नो उपचारमा बेवास्ता र लापरवाही गरेको तथा आफ्नो उपचारका लागि सरकारसँगै सबैसँग सहयोग गरेपछि एन्फाको भनाई बाहिरिएको हो ।

एन्फाले सार्वजनिक गरेको आफ्नो भनाई अनुसार बिगत १७ महिनादेखि चोटिल खेलाडी आशिष राईको उपचार र पूनःस्र्थापनामा आफूहरु जिम्मेवार रहेको बताएको छ । साथै आशिष राईलाई पूनः मैदानमा फर्काउन आफूहरुले गर्नुपर्ने सम्पूर्ण कर्तव्य पूरा गर्न एन्फा तयार रहेको समेत बताएको छ ।

एन्फाको पूरा वक्तव्य जस्ताको त्यस्तै पढ्नुहोसः

यू -२३ राष्ट्रिय खेलाडी आशिष राईको उपचार तथा वर्तमान अवस्थाबारे जानकारी
 
अखिल नेपाल फुटबल संघ (एन्फा) विगत १७ महिनादेखि चोटग्रस्त राष्ट्रिय खेलाडी आशिष राईको उपचार र पुनर्स्थापनामा पूर्ण रूपमा जिम्मेवार रहँदै आएको छ। खेलमैदानमा भएको दुर्घटनादेखि हालसम्मको उपचारको घटनाक्रम र वर्तमान अवस्था यस प्रकार रहेको छ:
 
१. खेलका क्रममा दुर्घटना र तत्काल उपचार
१५ फेब्रुअरी २०२५: चिनियाँ टोली (युनान) विरुद्धको मैत्रीपूर्ण खेलका क्रममा आशिष राईको देब्रे खुट्टामा गम्भीर चोट लागेको थियो।
 
तत्काल आपतकालीन सेवा: खेलमैदानबाट उनलाई तत्काल स्टार हस्पिटल पुर्‍याई एक्सरे गर्दा जटिलता देखिएपछि थप उपचारका लागि बीएन्डबी अस्पतालमा रिफर गरियो।
 
सफल शल्यक्रिया: बीएन्डबी अस्पतालमा प्रा. डा. अमित जोशीको प्रत्यक्ष रेखदेखमा पहिलो शल्यक्रिया सम्पन्न भयो। पछि 'कम्पार्टमेन्ट सिन्ड्रोम' को समस्या देखिएकाले पुनः दोस्रो शल्यक्रिया समेत सफल रूपमा गरियो।
 
२. स्वदेशमा पुनर्स्थापना (रिहाब) र फलोअप
शल्यक्रिया पश्चात् अस्पतालबाट डिस्चार्ज भएपछि आशिषलाई निरन्तर रूपमा एन्फा होस्टेलमा राखेर रिहाब गराइयो र डा. अमित जोशीसँग नियमित फलोअप गराइयो।
 
३. चीनमा वैदेशिक उपचार
नेपालको प्रारम्भिक उपचारपछि एन्फाको पहल र चिनियाँ दूतावासको समन्वय तथा सहयोगमा उनलाई थप उपचारका लागि करिब ६ महिना चीनको युनान पठाइएको थियो।
चीनमा उपचारपछि स्वास्थ्यमा केही सुधार भएपछि उनलाई नेपाल फर्काइयो। नेपाल फर्काएपछि पनि उनलाई सुविधासम्पन्न होटेलमा राखेर नेपालका उत्कृष्ट रिहाब सेन्टरहरूमा उपचार र पुनर्स्थापनाको कार्यलाई निरन्तरता दिइयो।
 
४. थाइल्याण्डमा विशिष्ट उपचार र डाक्टरको रिपोर्ट
३० अप्रिल २०२६: थप विशिष्ट उपचारका लागि उनलाई थाइल्याण्डको प्रतिष्ठित बैंकक अस्पताल पठाइयो। सो समयमा एन्फाले उपचार खर्चबापत रु. १० लाख निकासा गरेको थियो।
 
मे २०२६ (डाक्टरको सुझाव): बैंकक अस्पतालका डाक्टरहरूले १ महिना थाइल्याण्डमा उपचार गरेपछि बाँकी रिहाब नेपालमै गर्न सकिने रिपोर्ट दिएका थिए। आशिषको देब्रे खुट्टाको हड्डी निको हुने क्रममा रहेको तर खुट्टामा रहेको मेटल प्लेट निकाल्न अझै कम्तीमा १ वर्ष लाग्ने र त्यसपछि मात्र खेलमा फर्किन मिल्ने/नमिल्ने तय हुने चिकित्सकहरूको भनाइ छ।
 
५. हाल भुक्तानीमा ढिलाइ हुनुको मुख्य कारण र वर्तमान अवस्था
थाइल्याण्डका चिकित्सकले नेपालमै रिहाब गर्न सुझाव दिए तापनि खेलाडी आशिष राईले नेपालमा उपचार गर्न अनिच्छा देखाएपछि उनको माग बमोजिम एन्फाले थप उपचार थाइल्याण्डमै गराउने पहल सुरु गरेको थियो।
 
खेलाडीको माग अनुसार एन्फा महासचिवबाट थप रकम निकासाका लागि तोकादेश समेत भइसकेको थियो।
मुख्य समस्या: सोही समयमा एन्फा अन्तर्राष्ट्रिय निलम्बनमा पर्न गएको र राष्ट्रिय खेलकुद परिषद् (राखेप) को निर्देशन बमोजिम संघका सम्पूर्ण कार्यबाही तथा आर्थिक कारोबारहरू (बैंक खाता) पूर्ण रूपमा बन्द भएका कारण बिरामी खेलाडीलाई तुरुन्तै थप आर्थिक सहयोग पठाउन प्राविधिक समस्या उत्पन्न भएको हो।
 
आशिष राई र सम्पूर्ण खेलाडीहरूप्रति एन्फाको प्रतिबद्धता
सम्पूर्ण खर्चको जिम्मेवारी: विगत १७ महिनादेखि हालसम्मको सम्पूर्ण उपचार खर्च एन्फाले बेहोर्दै आएको छ र निज खेलाडी पूर्ण रूपमा निको नभएसम्म लाग्ने सम्पूर्ण खर्च एन्फाले नै बेहोर्नेछ।
 
अविचलित कर्तव्य: खेलका दौरान घाइते हुने आशिष राई लगायत अन्य सम्पूर्ण खेलाडीहरूको पूर्ण उपचारको सुविधा संघले सधैं उपलब्ध गराउँदै आएको छ।
 
निलम्बन फुकुवा लगतै निकास: आशिष राईको सम्बन्धमा संघको निलम्बन सम्बन्धी कानुनी एवं प्रशासनिक समस्या समाधान हुनासाथ रोकिराखेको बक्यौता भुक्तानी र थप उपचारको प्रक्रिया तत्काल अघि बढाइनेछ। उनलाई पुनः खेल मैदानमा फर्काउन संघले गर्नु पर्ने सम्पूर्ण कर्तव्य पूरा गर्न एन्फा पूर्ण रूपमा प्रतिबद्ध छ।

Post Comments