
तानसेन । एकतर्फी जितका साथ भगवती युवा क्लब पाल्पामा जारी तेस्रो न्यु युथ युनियन कपको फाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा भगवतीले साविक विजेता फर्साटिकर युवा क्लबलाई ५–२ ले हराउँदै उपाधि नजिक पुगेको हो ।
तानसेन स्थित टुंडिखेल मैदानमा भएको खेलमा भगवतीका लागि सुरज थारुले दुई गोल गर्दा थप एक गोल कप्तान जनम लिगलले गरे । त्यस्तै थप दुई गोल भने फर्साटिकरका निजाम अलीले आत्मघाती गोलका रुपमा गर्न पुगेका थिए । उता पराजित फर्साटिकरका लागि दुवै गोल टिकाराज गुरुङ्गले फर्काए तापनि टोलीको हार टार्न त्यो दुई गोल प्रर्याप्त बनेन ।
खेलमा भगवतीका लागि दुई गोल गरेका सुरज थारु खेलको म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत जेठ १५ गते बिहीबारको दोस्रो सेमिफाइनल खेल मनोभाव फुटबल क्लब र दमकडा ब्रदर्श फुटबल क्लबबीच हुने प्रचार प्रसार संयोजक अमृत केसीले जानकारी दिए ।
न्यु युथ युनियन क्लब, तानसेन, पाल्पाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल यही जेठ १७ गतेका दिन हुनेछ ।