News बैंककमा निराश बन्यो नेपाल
गोलनेपाल

काठमाडौं । एएफसी महिला एसियन कप छनौट खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीले एसियन कप छनौट कै तयारी स्वरुप थाइल्याण्डसँग सोमबार अन्तर्राष्ट्रिय मैत्रीपूर्ण म्याच खेल्यो ।

बैंकक स्थित थम्मसत स्टेडियममा भएको खेलमा नेपालले घरेलु टोली बलियो थाइल्याण्डसँग ०–२ को हार बेहोर्न पुग्यो । पहिलो हाफ थाइल्याण्डलाई बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा भने दुई गोल खान पुग्यो ।

थाइल्याण्डका लागि ६०औं मिनटमा छटछवान रोडथोङले फ्रिकिकमार्फत सुन्दर गोल गर्दै घरेलु टोलीलाई शुरुवाती अग्रता दिलाईन् । त्यस्तै ७३औं मिनटमा जिरापर्न मङ्गकोल्डीले दोस्रो गोल गर्दै थाइल्याण्डको जित पक्का गरिन् ।

खेलमा नेपाली खेलाडीहरुले विपक्षी विरुद्ध खासै डरलाग्दो आक्रमणको जालो बुन्न सकेनन् । अग्रपंक्तिमा साबित्रा र रेखा पनि त्यति जम्न नसक्दा नेपालले पराजय बेहोर्न बाध्य बन्यो ।

नेपालले अब जुन २९ तारीखदेखि उज्वेकिस्तानमा शुरु हुने एएफसी महिला एसियन कपको तयारी थाल्नेछ । समूह एफमा रहेको नेपालले आयोजक उज्वेकिस्तानसँगै श्रीलंका र लाओससँग खेल्ने कार्यक्रम छ ।

 

Post Comments