News कप्तान प्रकाश बुढाथोकीको दुई गोलसँगै धरान सिटी क्वाटरफाइनलमा
गोपाल काफ्ले

पथरी । कप्तान प्रकाश बुढाथोकीले दुई गोल गरेपछि धरान सिटी एकेडेमी एफसी मोरङको पथरीशश्चरेमा जारी पाँचौं अन्तर्राष्ट्रिय रिफ्युजी च्यालेन्ज कप २०७७ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

सोमवारको खेलमा वि.आर.सी भुटानलाई ३–१ ले हराउँदै धरान क्वाटरफाइनलमा प्रवेश गरेको हो । धरानका लागि खेलको तेस्रो मिनटमै पाएको फ्रिकिकलाई सदुपयोग गर्दै कप्तान प्रकाश बुढाथोकीले पहिलो गोल गरेका थिए । लगतै सातौं मिनटमा एमोस लिम्बुले धरानको अग्रता दोब्बर पारे ।

यद्यपि बि.आर.सी. का लागि २७औं मिनटमा अजय राजवंशीले गोल गर्दै टोलीललाई खेलमा फर्काउने प्रयास गरे तर सफल भएनन् । उता धरानका लागि ५७ मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै कप्तान बुढाथोकीले ब्याक्तिीगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै धरानको जित सुनिश्चित गरे ।

सोमबारको खेलको म्यान अफ द म्याच पनि धरानका कप्तान तथा दुई गोलकर्ता प्रकाश बुढाथोकी घोषित भए । उनले पुरस्कार वापत नगद २५ सय हात पारे । प्रतियोगिता अन्तरगत माघ ६ गते मंगलबारको खेल बेलबारी एफसी र एएफसी धरानबीच हुने आयोजकले जनाएको छ ।

भुटानी शरणर्थी शिविरका युवाहरुको समूह यूथ फ्रेन्ड्ली सेन्टरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित १ लाख हात पार्नेछ भने उपविजेताले ५१ हजार प्राप्त गर्नेछ ।

 

Post Comments