News रामपुर र सित्तल क्वाटरफाइनलमा
सुरज राना मगर

सैनामैना । रामपुर फुटबल क्लब र सित्तल युवा क्लब जारी प्रथम आदर्श कप नाईन ए साईड नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

सैनामैना ४ मुर्गिया स्थित आयोजक आदर्श युवा क्लबको खेलमैदानमा सोमबार भएको पहिलो खेलमा रामपुर एफसीले जुनियर आरके एफसीलाई २–० ले हरायो । रामपुरको जितमा खेल शुरु भएको पाँचौं मिनटमै भिम दर्लामीले पहिलो गोल गरे ।

त्यस्तै दोस्रो गोल भने ३९औं मिनटमा मनिष तामाङले गरे । जुन खेलको अन्तिम गोल पनि बन्यो । खेलको म्यान अफ द म्याच रामपुर एफसी कै भिम दर्लामी घोषित भए ।

सित्तलको पनि रोमाञ्चक जित

त्यस्तै सोमबार नै सम्पन्न दोस्रो खेलमा सित्तल युवा क्लबले हिमालय एफसीलाई २–१ ले हरायो । सित्तलका लागि लामो समयपछि मैदान फर्किएका राष्ट्रिय खेलाडी डोना थापाले २७औं मिनटमा सुन्दर फ्रिकिक गोल गरे ।

यद्यपि ३२औं मिनटमा हिमालयका लागि सुरज चौधरीले पेनाल्टीबाट गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । सित्तलका खेलाडीले हिमालयका खेलाडीलाई बक्स भित्र फल गरेपछि हिमालयले पेनाल्टीको अवसर पाएको थियो ।

उता सित्तलका लागि निर्णायक गोल भने एरोन थापाले ३९औं मिनटमा गरे । स्मरण रहोस, सित्तलका लागि निर्णायक गोल गरेका एरोन नै खेलको म्यान अफ द म्याच घोषित भए । उनी डोनाका कान्छा भाई समेत हुन् । एरोनलाई नेपाली काँग्रेसका सैनामैना नगरपालिकाका नगर सभापति रामप्रसाद अधिकारीले पुरस्कृत गरे ।

मंगलबार पनि दुई खेल हुने

प्रतियोगिता अन्तरगत माघ ६ गते मंगलबार पनि दुई खेल हुने आयोजकले जनाएको छ । पहिलो खेल न्यु एभरेष्ट युवा क्लब र स्वावलम्ब युवा क्लबबीच हुनेछ भने दोस्रो खेलमा मुनलाईट एफसी र आयोजक आदर्श युवा क्लबबीच हुने प्रतियोगिता संयोजक बिकास बस्नेतले जानकारी दिए ।

आदर्श युवा क्लब,सैनामैना–४ मुर्गियाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ३१,१११ रुपैयाँ प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष कोषराज बस्नेतले बताए । फाइनल खेल भने माघ १५ गतेका दिन हुनेछ ।

 

Post Comments