News संघर्षपुर्ण जितका साथ काठमाडौं–११ सेमिफाइनलमा
गोलनेपाल

बसन्तपुर । पेनाल्टी शुटआउटमा संघर्षपुर्ण जित निकाल्दै काठमाडौं–११ जारी दोस्रो माडी गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार माडी माविको खेलमैदानमा भएको अन्तिम क्वाटरफाइनलमा काठमाडौंले एफसी मुन्डियाल, हेटौडालाई पेनाल्टी शुटआउटमा ४–३ ले हरायो । यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

खेलको म्यान अफ द म्याच पेनाल्टी शुटआउटमा विपक्षीको दुई पेनाल्टी जोगाएका काठमाडौंका गोलरक्षक आकाश रानाभाट घोषित भए । उनले पुरस्कार वापत नगद ३ हजार प्राप्त गरे ।

सेमिफाइनल समिकरण पनि पूरा

मंगलबार सम्पन्न भएको खेलसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पनि पूरा भएको छ । अब काठमाडौंले सेमिफाइनलमा माघ ८ गतेका दिन लेखनाथ युनाइटेड एफसी, कास्कीसँग दोस्रो सेमिफाइनल खेल्नेछ ।

प्रतियोगिता अन्तरगत माघ ७ गते बुधबारको पहिलो सेमिफाइनल खेल आयोजक माडी–११ र सेन्ट्रल कलेज भरतपुर फुटबल क्लबबीच हुने आयोजकले जनाएको छ ।

बसन्तपुर युनाइटेड क्लब, चितवनको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । फाइनल खेल माघ १० गतेका दिन हुनेछ ।

(तस्विरः स्वदेश न्युज)

Post Comments