News पोखरामा एमेच्योर क्यासल कप फुटसल हुने
गोलनेपाल

पोखरा । पोखरा महानगरपालिका ४ गणेशटोल स्थित सञ्चालनमा रहेको स्पोर्टस् क्यासल प्रा.लिले पहिलो संस्करणको ‘एमेच्योर क्यासल फुटसल कप –२०७७’ आयोजना गर्ने भएको छ ।

स्थानीय र उदीयमान खेलाडीहरुलाई लक्षित गरी यहि आउँदो माघ २४ गते गणेशटोल स्थित स्पोर्टस् क्यासलको फुटसल मैदानमा एक दिने ‘फाईभ ए साईड फुटसल’ प्रतियोगिताको आयोजना गर्न लागेको हो ।

स्पोर्टस् क्यासलका सञ्चालक तथा पूर्व राष्ट्रिय फुटबल खेलाडी समेत रहेका प्रतियोगिता संयोजक ईश्वर (चन्द्र) गुरुङले उदीयमान खेलाडीहरुलाई स्थान दिने उद्देश्यले उक्त प्रतियोगिताको आयोजना गर्न लागेको बताए । उनका अनुसार व्यावसायिक रुपमा फुटबल खेल्दै आएका खेलाडीहरु सो प्रतियोगितामा सहभागी हुन पाउने छैनन् । प्रतियोगिता संयोजक समेत रहेका गुरुङले नवआगन्तुक खेलाडीहरुलाई अवसर प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको स्पष्ट पारे ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद २५ हजार हात पार्नेछ भने उपविजेताले १५ हजार प्राप्त गर्नेछ । त्यस्तै सान्त्वना स्थान हाँसिल गर्ने टिमलाई जि.एच हेयर एण्ड ट्याटु न्यूरोडद्वारा ८ जनालाई निशुल्क कपाल काट्ने र बुलडग बार खहरे लेकसाईडको तर्फबाट ८ जनालाई खानामा २० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

संयोजक गुरुङले सो प्रतियोगिताबाट सर्बाेत्कृष्ट खेलाडी बन्न सफल खेलाडीलाई केल्मीको आधिकारिक बिक्रेता डिलाईट स्पोर्टस्बाट केल्मी फुटसल जुत्ता प्रदान गर्ने बताए । करिब ३० टिम बढि अपेक्षित सो प्रतियोगितामा टिम दर्ता शुल्क २ हजार ५ सय निर्धारण गरिएको छ ।

Post Comments