ANFA सिरिजङ्गा गोल्डकपको सार्वजनिक सुनुवाइ तथा सहयोगदाता सम्मान सम्पन्न
गोलनेपाल

ताप्लेजुङ । ऐतिहासिक व्यक्तित्व तेअङ्सी सिरिजङ्गा सिङ्थेबेको ३२१औँ जन्मजयन्तीको अवसरमा तेल्लोक स्पोर्टिङ क्लबद्वारा आयोजित अन्तर्राष्ट्रिय आमन्त्रित पाँचौँ सिरिजङ्गा गोल्डकप तथा सिरिजङ्गा मेलाको सार्वजनिक सुनुवाइ, सहयोगदाता सम्मान तथा धन्यवाद कार्यक्रम सोमबार सम्पन्न भएको छ।

कार्यक्रममा प्रतियोगिता तथा मेलालाई सफल बनाउन आर्थिक, भौतिक, नैतिक तथा विभिन्न माध्यमबाट सहयोग पुर्याउने सहयोगदाता, शुभेच्छुक, खेलप्रेमी, पत्रकार, स्वयंसेवक, सुरक्षाकर्मी, कलाकार तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा योगदान पुर्याउने सबैप्रति आयोजकले सम्मान व्यक्त गर्दै हार्दिक आभार प्रकट गरेको थियो।

सार्वजनिक सुनुवाइका क्रममा प्रतियोगिताको आय–व्यय विवरणसमेत सार्वजनिक गरिएको थियो। प्रस्तुत विवरणअनुसार प्रतियोगिताबाट कुल रु. २९ लाख ९३ हजार ३२० आम्दानी भएको थियो भने रु. २९ लाख ८६ हजार ३०२ खर्च भएको जनाइएको छ। सम्पूर्ण खर्च कटाएर क्लबमा रु. ७ हजार १८ बचत रहेको अध्यक्ष अर्जुन भट्टराईले जानकारी दिए ।

आयोजक तेल्लोक स्पोर्टिङ क्लबले प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संस्थाको विश्वास, साथ र सहयोग नै क्लबको मुख्य प्रेरणा भएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्तै सहयोग र सद्भाव प्राप्त भइरहने अपेक्षा व्यक्त गरेको छ।

साथै, सहयोगदाता सम्मान तथा धन्यवाद कार्यक्रम आयोजना गर्न केही ढिलाइ हुन पुगेकोप्रति आयोजकले क्षमायाचना गर्दै सबैप्रति पुनः हार्दिक धन्यवाद ज्ञापन गरेको छ।

Post Comments