
काठमाडौं । एएफसी महिला एसियन कप छनौट प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो समूहको दोस्रो खेलमा पनि लगातार उत्कृष्ट जित हात पारेको छ । आफ्नो पहिलो खेलमा लाओसलाई ९–० ले हराएको नेपालले बुधबार दोस्रो खेलमा श्रीलंकालाई ८–० ले पराजित गर्यो ।
उज्वेक शहर तश्केन्ट स्थित बुन्योडकर स्टेडियममा भएको खेलको छैठौं मिनट मै गीता रानाको हेडर गोलबाट नेपालले खेलमा अग्रता लिएको थियो । त्यसपछि कप्तान साबित्रा भण्डारीले १४, ३६ र ४०औं मिनटमा लगातार तीन गोल गर्दै नेपालको अग्रता ४–० को स्थितिमा पुर्याईन भने प्रतियोगितामा आफ्नो लगातार दोस्रो ह्याट्रिक पनि पूरा गरीन् । स्मरण रहोस, साबित्राले लाओस विरुद्ध पनि ४ गोल गरेकी थिईन् ।
त्यस्तै नेपालका लागि ५५औं मिनटमा गीता रानाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौ गोल गरिन् । गीताले त्यो गोल भने पेनाल्टीमार्फत गरेकी थिईन् । ६२औं मिनटमा निशा थोकरले नेपालका लागि छैठौं गोल गरिन् भने वैकल्पिक खेलाडीका रुपमा प्रवेश गरेका रेखा पौडेल र पुजा रानाले क्रमशः ७८ र ८९औं मिनटमा लगातार दुई गोल थप्दै नेपालको उत्कृष्ट जित पक्का गरे ।
यो नतिजापछि हालका लागि २ खेलबाट ६ अंक जोडेको नेपाल समूह एफको शिर्ष स्थानमा उक्लेको छ । एक खेल कम खेलेको आयोजक उज्वेकिस्तान ३ अंकका साथ दोस्रो स्थानमा छ र उसले बुधबार राती नै लाओसको सामना गर्दैछ । त्यस्तै अंकविहीन लाओस तेस्रो स्थानमा छ भने अंकविहीन नै रहेको श्रीलंका पुछारमा र प्रतियोगिताबाट बाहिरिएको छ ।
नेपालले आफ्नो अन्तिम तथा निर्णायक खेलमा ५ जुलाई शनिबारका दिन घरेलु टोली उज्वेकिस्तानको सामना गर्नेछ । त्यस्तै सोही दिन लाओस र श्रीलंका पनि भिड्ने छन् ।