
काठमाडौं । उज्वेकिस्तानमा जारी एएफसी महिला एसियन कप छनौट प्रतियोगितातर्फ ऐतिहासिक फाइनल चरणको लागि छनौट हुने संघारमा रहेको नेपाली महिला फुटबल टोली शनिबार आयोजक उज्वेकिस्तानसँगै खेल्दैछ ।
उज्वेकिस्तान विरुद्धको खेलमा नेपालले जित वा आफु अनुकुल नतिजा निकाल्न सके ऐतिहासिक रुपमै पहिलोपटक एएफसी महिला एसियन कपका लागि छनौट हुनेछ ।
यसै क्रममा महिला खेलाडीहरुलाई शनिबार हौसला र प्रोत्साहन मिलोस भन्दै युवा खेल अभियन्ता तथा हाम्रो फुटबल नेपालका अध्यक्ष कृष्ण गुरुङ्गले यदि नेपाली टोली एसियन कपका लागि छनौट भए उनले नगद पुरस्कार दिने घोषणा गरेका छन् ।
गुरुङ्गका अनुसार यदि शनिबार हुने निर्णायक खेलमा नेपालले उज्वेकिस्तान विरुद्ध आफु अनुकुल नतिजा निकाल्दै एसियन कपका लागि छनौट नेपाली महिला टोलीका प्रत्येक सदस्यहरुलाई जनही ५०–५० हजार दिने घोषणा गरेका हुन् ।
स्मरण रहोस, नेपाल र उज्वेकिस्तान दुवैले समूह चरणतर्फ लगातार दुई जित निकाल्दै समान ६ अंकसहित समूह के को शिर्ष स्थानमा छन् । र, शनिबार राती ९ः१५ बजे हुने निर्णायक खेलमा दुवै टोलीको एसियन कपमा छनौट हुने सम्भावना कायम छ । यद्यपि सोही समूहमा रहेका लाओस र श्रीलंका भने प्रतियोगिताबाट बाहिरिसकेका छन् ।