News माडी गोल्डकपको फाइनलमा काठमाडौं र भरतपुर भिड्ने
गोलनेपाल

बसन्तपुर । चितवनको बसन्तपुर बजारमा जारी दोस्रो माडी गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा काठमाडौं–११ र सेन्ट्रल कलेज भरतपुर फुटबल क्लब भिड्ने भएका छन् ।

बिहीबार भएको दोस्रो सेमिफाइनलमा काठमाडौंले लेखनाथ युनाइटेड क्लब, कास्कीलाई पेनाल्टी शुटआउटमा ४–२ ले हराउँदै फाइनलमा भरतपुरसँगको भेट पक्का गरेको हो ।

माडी माविको खेलमैदानमा भएको निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको रोमाञ्चक बराबरी खेलेका थिए । पेनाल्टी शुटआउटमा भने काठमाडौंका गोलरक्षक बिकास रानाभाट निर्णायक बने । उनले विपक्षीका दुई पेनाल्टी जोगाउँदै काठमाडौंलाई उपाधि नजिक पुर्याए । रानाभाट नै खेलको म्यान अफ द म्याच घोषित भए ।

फाइनलमा काठमाडौं र माघ १० गते शनिबारका दिन घरेलु टोली भरतपुरसँग खेल्नेछ । भरतपुरले बुधबार मात्र आयोजक माडीलाई हराउँदै फाइनल स्थान सुरक्षित गरेको थियो ।

बसन्तपुर युनाइटेड क्लब, चितवनको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष नबिन बस्यालले बताए ।

Post Comments