दुहबी । आयोजक संयुक्त युवा क्लब, दुहबी यहाँ जारी सिमरिया च्यालेञ्ज कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
प्रतियोगिताको पहिलो सेमिफाइनलमा संयुक्तले नेताचोक टाईगर क्लब, ग्रामथान, मोरङलाई १–० ले हराउँदै उपाधि नजिक पुग्न सफल भएको हो । संयुक्तको जितमा खेलको २९औं मिनटमा बिनोद राईले एक मात्र निर्णायक गोल गरे ।
खेलको म्यान अफ दि म्याच पनि संयुक्तका निर्णायक गोलकर्ता बिनोद राई नै चुनिए । उनलाइ खेलका प्रमुख अतिथी दुहबी नगरपालिकाका पूर्व खेलाडी तथा समाजसेवी कान्तिलाल चौधरीले नगद ११०० र ट्रफीसहित पुरस्कृत गरे ।
प्रतियोगिता अन्तर्गत असार ३० गतेको दोस्रो सेमिफाइनल खेल युथ इलेभन फुटबल क्लब, सुनसरी र मधेसाा युवा क्लब, सुनसरीबीच हुने आयोजकले जानकारी दियो ।
संयुक्त युवा क्लब, दुहबी–१०, सिमरियाको आयोजना तथा दुहबी नगरपालिका वार्ड नम्बर १० को कार्यालयको संयोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३१ हजार हात पार्नेछ भने उपविजेताले २१ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही असार ३२ गतेका दिन हुनेछ ।