News तेश्रो ताप्लेजुङ गोल्डकपमा सहभागी हुने टीमको टुङगो लाग्यो
गोलनेपाल

फुङलिङ । अन्तर्राष्ट्रिय आमन्त्रण तेश्रो ताप्लेजुङ गोल्ड कपमा सहभागी हुने ८ टीमको टुङगो लागेको छ ।

लाखेजात्रा सञ्चालन समिति ताप्लेजुङले आज पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी साउन २४ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सहभागी हुने टीमको टुङगो लागेको जानकारी गराएको हो ।

फुङलिङस्थित भानुजन माद्यमिक विद्यालयको प्राङगणमा करिब एक सातासम्म जारी रहने प्रतियोगितामा आयोजक तथा अन्तर्राष्ट्रिय एक–एक टीम सहित ८ ओटा टीमले प्रतिष्पर्धा गर्ने भएका छन् ।

प्रतियोगितामा ताप्लेजुङको तेल्लोक स्पोर्टिङ क्लब, पाँचथरको फिदिम स्पोर्टिङ क्लब, झापाको रेडस्टार फुटबल क्लब, सुनसरीको द योङ ब्रदर्श क्लब, सिराहाको सलहेस युवा क्लब, काठमाडौँको चर्च व्वाईज क्लब, पोखराको सहारा क्लब र भारत सिलीगुढिको लेजण्ड फुटबल एकेडेमीलाई आमन्त्रण गरिएको समितिका अध्यक्ष सागर मादेनले जानकारी दिनुभयो ।

उहाँका अनुसार केही दिन भित्रै खेलतालिका समेत सार्वजनिक गरिने छ । आयोजकका अनुसार गत वर्षको प्रतियोगिताको उपविजेता सलहेस बाहेक सबै नयाँ टीमलाई आमन्त्रण गरिएको छ ।

प्रतियोगिताको उपाधि हात पार्ने टीमले नगद ७ लाख २ हजार ८२ रुपैयाँ र उपविजेताले ३ लाख ५० हजार ८२ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने समितिले जनाएको छ । गत वर्ष विजेतालाई ५ लाख र उपविजेतलााई २ लाख ५० हजार रुपैयाँ प्रदान गरिएको थियो । यस वर्षको विजेतलाई २ लाख र उपविजेतालाई १ लाख रुपयाँ बढीको पुरस्कार राशि वृद्धि गरिएको छ ।

यस्तै विधागत तर्फ विभिन्न क्षेत्रमा उत्कृष्ट बन्ने खेलाडीलाइ समेत उचित पुरस्कार राशिको व्यवस्था गरिएको आयोजकले जनाएको छ । जसअन्तर्गत सर्वाेत्कृष्ट खेलाडीलाई २० हजार, सर्वार्धिक गोलकर्ता, उत्कृष्ट फरवार्ड, नव उदयमान खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट कोचलाई समेत समान १५ हजार रुपैयाँको दरले नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने कोषाध्यक्ष दावा शेर्पाले जानकारी दिनुभयो ।

त्यस्तै हरेक दिनको खेलको म्यान अफ दि म्याच बन्ने खेलाडीलाई समेत नगद ७ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको आयोजकको भनाई छ । आयोजकका अनुसार विभिन्न विधातर्फ उत्कृष्ट बन्ने खेलाडीले प्राप्त गर्ने नगद पुरस्कार समेत गत वर्षको तुलनामा वृद्धि गरिएको छ ।

क्वाटर फाइनल चरणका चार ओटा खेलका लागि टिकट दर एक सय रुपैयाँ, सेमिफाइनल चरणका लागि २ सय रुपैयाँ र फाइनल खेलका लागि दुई सय रुपैयाँ निर्धारण गरिएको बताइएको छ । १० वर्ष मुनिका बालबालिका तथा जेष्ठ नागरिकलाई निःशुल्क मैदान प्रवेशका लागि व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।

खेलमा सहभागी हुने टीमका खेलाडी तथा रेफ्रीलाई आयोजकले १ लाख रुपैयाँको बिमा समेत गर्ने तयारी गरेको समितिका सचिव टिकेन्द्र नेपालीका भनाई छ ।
प्रतियोगिताको तयारी स्वरुप अहिलो प्याराफिट निर्माण लगायतको कार्य जारी रहेको छ ।

यसअघि विभिन्न सरोकारवालाहरुको सहयोगमा मैदानमा दुबो रोपिएको थियो । जसका कारण सय वर्ष हिलाम्मेयुक्त मैदानमा खेलाडीहरुले आफ्नो खेल प्रदर्शन गर्न सक्ने आयोजकको अनुमान रहेको छ ।

प्रतियोगिता सम्पन्न गर्नका लागि कुल ६४ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान रहेको छ ।

Post Comments