सुन्दरनगर । रुपन्देहीको कञ्चन गाउँपालिकामा सम्पन्न प्रथम सुर्यमुखी कप खुला सेभेन ए साईड नकआउट फुटबल प्रतियोगिताको उपाधि नमुना युवा क्लबले जितेको छ ।
बुधबार सम्पन्न फाइनलमा नमुनाले मुर्गिया फुटबल क्लबलाई ३–० ले हराउँदै उपाधि उचाल्न सफल भएको हो । कञ्चन गाउँपालिका १ स्थित सुन्दरनगर खेलमैदानमा भएको खेलमा नमुनाका लागि सुरज चौधरीले दुई गोल गर्दा रोशन थापाले थप एक गोल गरे ।
विजेता बनेको नमुना युथ क्लबले उपाधिसहित नगद २०,२२२ रुपैयाँ हात पार्यो भने उपविजेता मुर्गिया फुटबल क्लबले १०,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
नमुनाका सुरज चौधरी फाइनल खेलको म्यान अफ दि म्याच चुनिए । उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताको पुरस्कार पनि नमुना कै क्रमशः अनुप थापा र मिलन आलेले हात पारे । प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी भने मुर्गियाका जनम छहरी मगर घोषित भए ।
विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी वरिष्ठ समाजसेवी भक्त बहादुर थापा, आयोजक सुर्यमुखी युवा क्लब, कञ्चन गाउँपालिका–१, सुन्दरनगरका अध्यक्ष दल बहादुर थापा र खेल संयोजक रबिन थापा लगायतले पुरस्कृत गरेका थिए ।