News महिला युथ–१७ टोलीको बन्द प्रशिक्षणमा महासचिव राईको निरीक्षण
बिक्रम बानियाँ क्षेत्री

हेटौंडा । नेपाली महिला फुटबलको इतिहासमा नयाँ आयाम थप्दै अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा पहिलो पटक महिला उमेर समूह यु–१७ को राष्ट्रिय टोलीको बन्द प्रशिक्षण कार्यक्रम संचालन भईरहेको छ । नेपाली युथ टोलीले आउँदै गरेको साफ यु–१७ महिला च्याम्पियनसिपको तयारीस्वरूप तीन साता अघिदेखि हेटौंडाको गौरीटार रंगशालामा प्रशिक्षण गरिरहेको छ ।

सो प्रशिक्षणको निरीक्षण गर्न एन्फाका महासचिव किरण राई स्वयम् हेटौंडा पुगेर स्थलगत अवलोकन गर्नुभयो । निरीक्षणको क्रममा महासचिव राईले खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन समूहसँग छलफल गर्दै प्रशिक्षणको गुणस्तर, उपलब्ध सुविधा तथा थप आवश्यकताबारे जानकारी लिनुभयो ।

महासचिव राईले टिमको समग्र तयारीप्रति सन्तोष व्यक्त गर्दै भने, “यो प्रशिक्षण कार्यक्रम नेपाली महिला फुटबलको भविष्य निर्माणमा एक महत्वपूर्ण पाइला हो ।” साथै, उनले नेपालले सन् २०३१ को महिला विश्वकपमा सहभागिता जनाउने दीर्घकालीन लक्ष्य लिएको जानकारी पनि दिनुभयो ।

राईले प्रदेशस्तरमै यस्ता कार्यक्रम सञ्चालन गर्नुको महत्वमा जोड दिँदै थपे, “खेलाडीलाई नयाँ वातावरणमा प्रशिक्षण दिने मौका मिल्दा उनीहरूको अनुभव र आत्मविश्वास दुवै बढ्छ। हामी नेपाली फुटबललाई देशका हरेक कुनामा पुर्याउने दृढ लक्ष्यसहित केन्द्रदेखि प्रदेशसम्म विकासको अभियानलाई विस्तार गर्दैछौं ।”

स्मरण रहोस, नेपाली यु–१७ महिला फुटबल टोलीले यही आगस्त २० देखि ३१ सम्म भुटानमा आयोजना हुने साफ यु–१७ महिला च्याम्पियनसिपमा सहभागिता जनाउने तालिका रहेको छ ।

Post Comments