News ज्योतिपुञ्जमा सुन्दर रानाको नयाँ नेतृत्व
सुरज राना मगर

रामपुर । पाल्पा जिल्लाको पूर्वी पर्यटकीय शहर रामपुरको फुटबललाई उकास्न निरन्तर लागिपरेको ज्योतिपुञ्ज युवा क्लब, रामपुर, पाल्पाले नयाँ नेतृत्व पाएको छ ।

क्लबको ३०औं साधारणसभा तथा १०औं अधिवेशनबाट युवा समाजसेवी तथा खेल अभियन्ता सुन्दर रानाको अध्यक्षतामा क्लबले नयाँ नेतृत्व पाएको हो । त्यस्तै क्लबको उपाध्यक्षमा सोम प्रसाद श्रेष्ठ निर्वाचित भएका छन् ।

त्यस्तै सचिवमा गोपाल प्रसाद दमाई निर्वाचित भएका छन् भने सह–सचिवमा अर्जुन पाठक निर्वाचित भएका छन् । त्यसैगरी कोषाध्यक्षमा पूर्व खेलाडी तथा प्रशिक्षकका रुपमा समेत परिचित अनिल शाही ठकुरी निर्वाचित भएका छन् ।

सदस्यहरुमा भने गौरव क्षेत्री, श्याम प्रसाद श्रेष्ठ, गुम बहादुर रम्जाली, श्याम माया राना र संगीता पोखरेल निर्वाचित भएका छन् । नवनिर्वाचित पदाधिकारीहरुलाई क्लब कै निवर्तमान अध्यक्ष तथा अनुभवी युवा खेल अभियन्ता सुदिप गौतम लगायतले बधाई र शुभकामना दिंदै स्वागत गरे ।

उता नवनिर्वाचित अध्यक्ष सुन्दर रानाले आफूलाई विश्वास गरेर दिएको यो जिम्मेवारी निकै महत्वपूर्ण जिम्मेवारीका रुपमा रहेको बताए । क्लबमा सबैलाई मिलाएर सहकार्य गर्ने प्रतिबद्धता समेत जनाए । उनले पुरानो कार्यसमितिलाई धन्यवाद दिंदै क्लबलाई थप उचाईंमा पुर्याउन सबैको साथ, सहयोग र समर्थनको अपेक्षा गरेको समेत बताए ।

सोही अवसरमा क्लबका निवर्तमान अध्यक्ष सुदिप गौतमले नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई दिंदै सफल कार्यकालको शुभकामना दिए । आफू क्लबको पदीय जिम्मेवारीबाट मुक्त भए तापनि क्लबसँगको भावनात्मक सम्बन्ध अटुट रहेको चर्चा गरे साथैसमग्र रामपुरको खेलकुद विकासमा सक्दो सहयोग निरन्तर गरीरहने बताए ।

स्मरण रहोस, पाल्पाको रामपुर नगरलाई कर्मथलो बनाएर केही वर्ष यता निरन्तर खेलकुद र समाजसेवामा लागि परेको ज्योतिपुञ्ज युवा क्लबले वार्षिक रुपमा पाल्पा जिल्ला र मोफसल कै फुटबलमा पहिचान बनाउन सफल ज्योतिपुञ्ज कप राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्दै समेत आइरहेको छ ।

 

 

 

 

Post Comments