News उत्तर कोरियासँग निरीह भुटान
गोलनेपाल

काठमाडौं । एएफसी यु–२० महिला एसियन कप छनौट प्रतियोगितातर्फ नेपाल कै समूहमा रहेको डिफेन्डिङ च्याम्पियन उत्तर कोरियाले आफ्नो लगातार दोस्रो खेलमा फराकिलो जित हात पारेको छ ।

समूह ए तर्फको आफ्नो पहिलो खेलमा साउदी अरेबियालाई १५–० ले हराएको उत्तर कोरियाले शुक्रबार आफ्नो दोस्रो खेलमा घरेलु टोली तथा आयोजक भुटानलाई १०–० को फराकिलो अन्तरले हरायो ।

भुटानले आफ्नो पहिलो खेलमा नेपालसँग १–१ गोलको बराबरी खेलेको थियो । स्मरण रहोस, समूह ए तर्फ नेपालले शुक्रबार नै सम्पन्न आफ्नो दोस्रो खेलमा साउदी अरेबियालाई १–० ले पराजित गरेको थियो ।

शुक्रबारको दोस्रो खेलको नतिजापछि दुई खेलबाट ६ अंक जोडेको उत्तर कोरिया समूह ए को शिर्ष स्थानमा उक्लिएको छ । साथै अर्को बर्ष थाइल्याण्डमा हुने एएफसी यु–२० महिला एसियन कपका लागि पनि लगभग आफ्नो स्थान पक्का गरेको छ ।

त्यस्तै ४ अंकका साथ नेपाल दोस्रो स्थानमा छ । र आइतबार हुने समूह चरणको आफ्नो अन्तिम तथा निर्णायक खेलमा उत्तर कोरियाको सामना गर्दैछ । सो खेलमा नेपालले आफु अनुकुल नतिजा ल्याउन सकेन एसियन कपमा स्थान बनाउने झिनो सम्भावना कायम रहनेछ ।

आइतबार नै हुने अर्को खेलमा भुटान र साउदी अरेयिबा पनि भिड्ने छन् । हाल दुई खेलबाट १ अंक जोडेको भुटान तेस्रो स्थानमा छ । त्यस्तै अंकविहीन साउदी अरेबिया भने पुछारमा रहेको छ ।

Post Comments