News बंगलादेशको लगातार दोस्रो जित, भारत पनि सफल
गोलनेपाल

काठमाडौं । एएफसी यु–२० महिला एसियन कप छनौट प्रतियोगितातर्फ साफ च्याम्पियन बंगलादेशले आफ्नो समूहमा लगातार दोस्रो जित हात पार्दा अर्को दक्षिण एसियाली राष्ट्र भारतले पनि सफलता हासिल गरेको छ ।

समूह जी मा रहेको बंगलादेशले लगातार दोस्रो जित हात पार्ने क्रममा टिमोर लिस्टेलाई ८–० को फराकिलो अन्तले हरायो । यसअघि आफ्नो पहिलो खेलमा बंगलादेशले आयोजक लाओसलाई ३–० ले हराएको थियो ।

सोही समूहको अर्को खेलमा दक्षिण कोरियाले पनि लगातार दोस्रो जित हात पार्ने क्रममा लाओसलाई १–० ले पराजित गर्यो । अब समूह चरणको अन्तिम तथा निर्णायक गोल आइतबार दक्षिण कोरिया र बंगलादेश भिड्ने छन् भने सोही दिन लाओस र टिमोर लिस्टेले पनि प्रतिस्पर्धा गर्नेछन् ।

समूह जी मा दुई खेलबाट समान ६–६ अंक जोडेका बंगलादेश र दक्षिण कोरिया क्रमश पहिलो र दोस्रो स्थानमा छन् । यी दुवै टोलीको एसियन कपमा छनौट हुने सम्भावना कायम छ । अंकविहीन लाओस र टिमोर लिस्टे क्रमशः तेस्रो र चौथो स्थानमा छन् साथै समूह चरणबाटै बाहिरिएका छन् ।

त्यस्तै समूह डी तर्फ अर्को दक्षिण एसियाली राष्ट्र भारतले पनि तुर्कमेनिस्तानलाई ७–० को अन्तरले हरायो । भारतले आफ्नो पहिलो खेलमा इण्डोनेसियासँग गोलरहित बराबरी खेलेको थियो । सोही समूहको अर्को खेलमा इण्डोनेसिया र आयोजक म्यानमारले २–२ गोलको बराबरी खेले ।

दोस्रो खेलको नतिजा पश्चात् दुई खेलबाट समान ४–४ अंक जोडेका भारत र आयोजक म्यानमार क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । २ अंक जोडेको इण्डोनेसिया तेस्रो स्थानमा रहँदा अंकविहीन तुर्कमेनिस्तान पुछारमा रहेको छ र समूह चरणबाटै बाहिरिएको छ ।

समूह चरणको अन्तिम खेलमा आइतबार म्यानमार र भारत भिड्ने छन् भने सोही दिन इण्डोनेसिया र तुर्कमेनिस्तान पनि भिड्ने छन् । समूह डी मा भारत र म्यानमारसँगै इण्डोनेसियाको पनि एसियन कपमा छनौट हुने सम्भावना कायम रहेको छ ।

Post Comments