News सहारा क्लब पोखरालाई रोक्दै रेड स्टार ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा
रमेश समदर्शी

पाहुना टोली पोखराको सहारा क्लबमाथि स्पष्ट जित निकाल्दै झापा बिर्तामोडको जोया रेड स्टार फुटबल क्लब यहाँ जारी ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

गण्डकी प्रदेशबाट पूर्व भ्रमणमा निस्किएको सहारा क्लब झापाली टोलीसँग २-० गोलले स्तब्ध बनेको हो ।

भानुजन माविको मैदानमा आज भएको दोस्रो क्वाटरफाइनल खेलमा झापाका लागि दुवै गोल सविन लुङ्गेली मगरले गरेका हुन् । पहिलो हाफ गोलरहित बने पनि खेलको ७७औँ मिनेटमा सविनले उत्कृष्ट गोल गरेका हुन् ।

परिवर्तित खेलाडी रोशन ठकुरीको पासमा सविनले गोल गरेका हुन् । यसैगरी, खेलको ९२औँ मिनेटमा पाएको पेनाल्टीमा सविनले नै गोल गर्दै अग्रता दोब्बर बनाए । दुई गोल गरेका सविन प्लेयर अफ दि म्याच घोषितहुँदै नगद ७ हजार पाउन सफल भए ।

लाखे जात्रा सञ्चालन समितिले प्रतियोगिता आयोजना गरेको गोल्डकप विजेताले नगद ७ लाख २ हजार ८२ र ट्रफी प्राप्त गर्नेछ । उपविजेताले ३ लाख ५२ हजार ८२ रुपैयाँसहित ट्रफी पाउनेछ । सर्वोकृष्ट खेलाडीलाई मोटरसाइकल दिइेने आयोजकले जानकारी दिएको छ । सोमबार चर्च ब्वाईज युनाइटेड काठमाण्डौले लिजेण्ड फुटबल एकेडेमी सिलिगुडी भारतको समाना गर्नेछ ।

Post Comments