News कठिन जितबाट चर्च ब्वाइज ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा
रमेश समदर्शी

भारतीय टोलीमाथि साँघुरो जित निकाल्दै चर्च ब्वाइज युनाइटेड भानुजन माविको मैदानमा जारी तेस्रो ताप्लेजुङ गोल्डकपको अन्तिम चारमा प्रवेश गरेको छ ।

पाहुना टोली लिजेण्ड फुटबल एकेडेमी सिलिगुडी भारतलाई १-० गोलको नतिजामा हराउँदै चर्च ब्वाइज दोश्रो चरणमा प्रवेश गरेको हो ।

खेलको १० मिनेटमा मनिष जर्घामगरले गरेको गोल नै जितका लागि पर्याप्त बन्यो । खेलको ४२औँ मिनेटमा भारतका खेलाडी प्रितम बैडी दोहोरो पहेँलो कार्डपछि रेड कार्ड खाएर बाहिरिएपछि १० जनामा समेटिएको थियो । भारतले धेरै राम्रा अवसर पाए पनि स्कोर हुन नसक्दा पहिलो खेलबाटै बाहिरिएको हो ।

चर्च ब्वाइजका गोलरक्षक विश्वास चौधरी प्लेयर अफ दि म्याच घोषित भए । उनले नगद ७ हजार पाए । लाखे जात्रा सन्चालन समितिले प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगिताको विजेताले नगद ७ लाख २ हजार ८२ र ट्रफी प्राप्त गर्नेछ । उपविजेताले ३ लाख ५२ हजार ८२ रुपैयाँमा चित्त बुझाउनु पर्नेछ । सर्वोकृष्ट बन्ने खेलाडीले मोटरसाईकल पाउँदा अन्य विधागत पुरस्कारको व्यवस्था रहेको छ ।

भोलि (मंगलबार)को अन्तिम क्वाटरफाइनल खेलमा सलहेश युवा क्लब सिराहाले पाँचथरको फिदिम स्पाेर्टिङ क्बलको सामाना गर्नेछ । फाइनल खेल साउन ३१ गते हुनेछ ।

Post Comments