सखुवानी । रुपन्देहीमा जारी प्रथम जागृति कप खुला सेभेन ए साईड नकआउट फुटबल प्रतियोगिताको फाइनलमा आयोजक जागृति युवा क्लब (ए) र ओमसतिया फुटबल क्लब भिड्ने भएका छन् ।
तिलोत्तमा नगरपालिका–१५, सखुवानी स्थित मधवलिया माविको खेलमैदानमा सोमबार भएको पहिलो सेमिफाइनलमा ओमसतियाले आयोजक जागृति युवा क्लब (बी) लाई २–० ले हराउँदै फाइनल यात्रा तय गर्यो । ओमसतियाको जितमा दुवै गोल सुदिप मगरले गरे ।
त्यस्तै सोमबार नै भएको दोस्रो सेमिफाइनलमा आयोजक जागृति युवा क्लब (ए) ले फ्रेण्डस फुटबल क्लबलाई ३–१ ले हराउँदै उपाधि नजिक पुग्यो । जागृति (ए) का लागि मिलन आले मगरले दुई गोल गरे भने थप एक गोल सुरज चौधरीले गरे । उता फ्रेण्डसका लागि भने सुदिप थापाले एक मात्र गोल फर्काएका थिए ।
अब यही साउन २७ गते मंगलबार हुने फाइनलमा आयोजक जागृति युवा क्लब (ए) र ओमसतिया फुटबल क्लब उपाधिका लागि भिड्ने आयोजक क्लबका अध्यक्ष झके गुरुङले जानकारी दिए । प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४० हजार हात पार्नेछ भने उपविजेताले २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।